Prakash Adhikari October 14, 2022

पोखरा(कास्की), २८ असोज । नेपालको सुन्दर पर्यटकीय नगरी पोखरामा आज नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा समुद्घाटन हुने भएको छ ।

प्रतियोगिता अन्तर्गतका खेलहरु एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उदघाटन समारोह भने आज हुन लागेको हो ।
अपराह्न साढे तीन बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

उदघाटन समारोहमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वलन गर्नुहुनेछ ।

उदघाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरुबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम र आतिसबाजीसमेत गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभएको छ ।

औपचारिक रुपमा शुक्रबारबाट आरम्भ भएको प्रतियोगिता आगामी कात्तिक ३ गते सकिने छ ।

खेलकूद प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।

उदघाटन समारोहमा ३ सय जना स्वयंसेवक खटिनेछन् भने विद्यार्थी, सेना, प्रहरी, एपीएफ, खेलाडी, रेफ्री, खेल पदाधिकारी, अतिथि र स्थानीयको उपस्थितिले १६ हजार ५ सय सिट क्षमताको प्यारापिट भरिने आयोजकको आँकलन छ ।

नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा आयोजना हुने जानकारी गराइएको थियो । तर कोरोना महामारीका राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका कारण पनि खेलको मिति पछाडि सारिएको थियो ।

सबै तयारी पूरा
उदघाटन समारोहको सबै किसिमको तयारी सकिएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिनुभएको छ ।

नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०३८ देखि सुरु भएको थियो । दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो । त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो ।
प्रतियोगितामा ८ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन् ।

नवौं राष्ट्रिय प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० काँस्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।

नवौं राष्ट्रिय खेलकुदमा खेलाइने कूल ३६ वटा खेलहरुमध्ये पोखराको घरेलु मैदानमा नै २६ वटा खेल हुने खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले जानकारी दिनुभएको छ ।

अन्य खेल गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङ जिल्लामा तोकिएको छ ।

गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायत कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यसपटक खेल हुने छैन ।

आगामी कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगितामा सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गैरआवासीय नेपाली संघ (एनआरएन) गरी कूल ११ टिमबीच प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ ।

कुन खेल कहाँ ?

एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रंगशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्न्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रंगशालामा हुनेछन् । आर्चरी र फेन्सिङ पनि पोखरा रंगशालामा हुनेछ ।

यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्समा हुनेछन् । साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुने छन् ।

रग्बी भण्डारढिक खेल मैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रंगशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ ।

पुरुष बास्केटबल पोखरामा र महिला बास्केटबल तनहुँमा हुने छ भने म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ । बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ ।

नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ ।

पूर्वाधार अभावका कारण सुटिङ भने काठमाडौंमा खेलाइनेछ ।

 

Share Now

Leave a comment.