जनकपुरधाम(धनुषा),२८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ३ मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषद्बाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गर्नुभएको हो।
कांग्रेसबाट मधेश प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई मुख्यमन्त्री राउतले बर्खास्त गर्नुभएको हो ।
बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको बताइएको छ ।
३ मन्त्री बर्खास्त गरेको पत्र मुख्यमन्त्री राउतले प्रदेश प्रमुख कार्यालयमा पठाएपछि प्रदेश प्रमुख हरि शंकर मिश्रले तिनीहरुलाई हटाउनुभएको थियो । ती मन्त्रालयहरुको जिम्मेवारी अब मुख्यमन्त्री राउतमा नै रहेको छ ।
मधेश सरकारमा एकीकृत समाजवादीबाट शत्रुधन महतो वन तथा पर्यटन मन्त्री, प्रमोद यादव कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री र नागेन्द्र राय यादव राज्य मन्त्री हुनुहुन्छ । यसैगरी नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण हुनुहुन्छ।
सत्ता गठबन्धन छाडेर जसपाले नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गर्नुभएको थियो ।



















