Prakash Adhikari October 18, 2022

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनका कारण योग्य हुँदाहुँदै पनि धेरै क्षमतावान साथीहरूलाई उम्मेदवार बनाउन नसकेको बताउनुभएको छ ।

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धनका कारण नसकिएको बताउनुभयो ।

उहाँले एउटा परिस्थितिमा गठबन्धन सरकार बनेको उल्लेख गर्दै छोटो अवधिमा देशलाई एउटा अर्डरमा ल्याएको उहाँले दाबी गर्नुभयो । उहाँले गठबन्धन सरकार बनेपछि जनताका इच्छा र माग सम्बोधन भएको बताउँदै स्थानीय तह निर्वाचन सम्पन्न भएर लोकतन्त्रको जरा मजबुत बन्ने र विकास कार्य नियमित सञ्चालन हुने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।

नेता महतले जसपालाई कांग्रेसले उदारता देखाए पनि बहिरिएको र उसका प्रति कुनै नकारात्मक टिप्पणी नगर्ने बताउनुभयो ।

प्रवक्ता डा. महतले निर्वाचन आयोगले तयार गरेको आचारसंहिता धेरै नियन्त्रणमुखी रहेको, धेरै सीमा राखिएकाले विगतमा गरे जसरी प्रचार गर्न सम्भव नभएको उल्लेख गर्नुभयो । उहाँले आचारसंहिताको सीमामा कांग्रेसले प्रचार गर्ने उनले बताउनुभयो ।

कांग्रेसले धेरै नबोल्ने बरु काम गरेर देखाउने भन्दै देशभर कांग्रेस र गठबन्धनको उम्मेदवारको पक्षमा माहोल तयार भएको, जिल्ला जिल्लामा गठबन्धनको निर्वाचन परिचालन समिति गठन भइरहेको र सातै प्रदेशमा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने उहाँको भनाइ छ ।

नेता महतले दुई दिनभित्रै सत्ता गठबन्धनको संयुक्त अपिल सार्वजनिक हुने जानकारी दिनुभयो ।

 

Share Now

Leave a comment.