काठमाडौं,२९ कार्तिक। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा मौन अवधि नरहेको बताउनुभएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समिति बैठकलाई सोमबार सम्बोधन गर्दै उहाँले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधि नराखिएको जानकारी दिनुभयो। तर, मतदानको ४८ घण्टादेखि चुनावी प्रसारप्रचार गर्न नपाइने उहाँले बताउनुभयो ।
मौन अवधि नरहेकाले मतदानअघिको ४८ घण्टाको समयलाई व्यवस्थित बनाउने काम भइरहेको जानकारी दिंदै उहाँले उक्त अवधिलाई यसपटक मौन अवधि नभएको र प्रचारप्रसार गर्न पनि प्रतिबन्ध लगाइएको बताउनुभयो ।
उक्त समयावधिमा हुन सक्ने आचारसंहिताविपरीतका गतिविधिलाई रोक्ने गरी आयोगले काम गरिरहेको जानकारी दिएका प्रमुख आयुक्त थपलियाले यस पटक धेरैजसो आचारसंहिता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताउनुभयो।
उहाँले मौन अवधि नरहे पनि १ मंसिर राती १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने उल्लेख गर्नुभयो ।


















