Prakash Adhikari November 17, 2022

 

डडेल्धुरा, १ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको भाग्य चम्काउने रुपान्तरणकारी योजना मानिएका पश्चिम सेती जलविद्युत आयोजना र पञ्चेश्वर बहुद्देश्यीय आयोजना सम्पन्न गरेरै छाड्ने बताउनुभएको छ ।

निर्वाचनको मौन अवधि सुरुहुनु अघिल्लो दिन गृहजिल्ला डडेल्धुरा पुगेर ११ वटा चुनावी आमसभालाई सम्बोधन गर्दा उहाँले सो कुरा उल्लेख गर्नुभएको छ ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उहाँले ६ पटक निर्वाचित हुनुभएको छ । अहिले उहाँ सातौँ पटक उम्मेदवार बन्नुभएको हो । उम्मेदवार भएदेखि यति धेरै चुनावी सभालाई सम्बोधन गरेको पहिलो पटक भएको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताउनुभयो ।

चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै देउवाले २०३६ तिर डडेल्धुरालगायत सुदूरपश्चिमका अधिकांश जिल्लाका वस्तिमा पुगी पञ्चायती व्यवस्थाविरुद्ध अभियान चलाएको बताउनुभएको छ ।

त्यसबेला सडक, सञ्चार, बिजुली नहुँदा समस्या भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “२०३६ सालमा तीन दिन हिँडेर धनगढी पुगेको थियौँ, त्यहाँबाट भारतको बाटो रेल चढेर काठमाडौँ गएका थियौँ ।”

मङ्सिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन उहाँले मतदातासँग आग्रह गर्नुभयो । निर्वाचन आयोगले कात्तिक १७ गते देखि मङ्सिर १ गतेसम्म प्रचारप्रसार गर्ने समय तोकेपछि १७ गते नै देउवा गृहजिल्ला डडेल्धुरा पुगेर बाम लोकतान्त्रिक गठबन्धनको आमसभालाई सम्बोधन गरेर प्रचारप्रसारको शुभारम्भ गर्नुभएको थियो ।

रोजगारीका अवसर सिर्जना गर्न पश्चिम सेती र एसआर–६ ९सानो सेती० १२ सय मेगावाट बिजुली उत्पादनका लागि भारतीय कम्पनीसँग सम्झौता भई अध्ययनको काम भइरहेको उहाँले जानकारी गराउनुभयो । पञ्चेश्वर परियोजना निर्माणको काम अघि बढाउन भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको पनि प्रधानमन्त्री देउवाले जानकारी गराउनुभयो ।

यससँगै उहाँले महाकाली कोरिडोरको काम द्रुत गतिमा हुने, सेती लोकमार्गको काम अघि बढाइने, सिँचाई, खानेपानी, बिधुतको समस्या रहेको गाउँबस्तीमा समस्या समाधान गरिने बताउनुभयो । सभापति देउवा यस पटकको निर्वाचनमा ६ दिन डडेल्धुरा बस्नुभई ११ वटा आमसभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले बिहीबार अजयमेरु गाउँपालिका –१ खतेडामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचारप्रसारको कामलाई विश्राम दिनुभएको सचिव चटौतले बताउनुभयो । यस पटक देउवाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–५ स्थित बागबजारको बसपार्क, गृह पालिका गन्यापधुरा–२ को बडाल, ३ को सकायल, नवदुर्गा गाउँपालिका–४ को बेलापुर, भागेश्वर गाउँपालिका– २ को रुपाल, ३ को बोगडा, अजयमेरु गाउँपालिका– ३ को भद्रपुर, ५ को देवल, १ को खतेडा, आलिताल गाउँपालिका– ३ को गोदाम र परशुराम नगरपालिका–१२ को लालढुङ्गामा आयोजित आमसभालाई सम्बोधन गर्नुभएको थियो ।

Share Now

Leave a comment.