दोहा(कतार),१७ मंसिर । विश्वकप फुटबलमा सबै समूहका अन्तिम खेल सकिएसँगै नकआउटको समीकरण पूरा भएको छ। नकआउटमा दुई समूहमा ८र८ टोली विभाजन हुनेछन्।
एउटा समूहमा नेदरल्याण्ड, अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, जापान, क्रोएसिया, ब्राजिल र दक्षिण कोरिया परेका छन्। अर्को समूहमा इङ्ल्याण्ड, सेनेगल, फ्रान्स, पोल्याण्ड, मोरक्को, स्पेन, पोर्चुगल र स्विटजरल्याण्ड छन्।
यी दुई समूहबाट एक एक टोली फाइनलमा पुग्नेछन्।
आ आफ्ना खेल जित्दै गए ब्राजिल र अर्जेन्टिनाको भेट सेमिफाइनलमा हुनेछ। फ्रान्स, इङ्ल्याण्ड, स्पेन र पोर्चुगलले पनि नकआउट चरणमा विजयी भए क्वार्टर फाइनलमा भेट हुनेछन्। सेमिफाइनलमा पनि यी टोलीबिच भेट हुने छ।
नकआउटमा नेदरल्याण्ड्स र अमेरिका भिड्नेछन्। अर्को खेलमा अर्जेन्टिना र अष्ट्रेलियाको भेट हुनेछ। यी दुई खेलका विजेताको भेट क्वार्टर फाइनलमा हुनेछ।
अर्को खेलमा जापानले क्रोएसियाको सामना गर्दा ब्राजिलले दक्षिण कोरियाको सामना गर्नेछ। जापान र क्रोएसिया तथा ब्राजिल र कोरियाबीचको विजेताबिच क्वार्टर फाइनलमा भेट हुनेछ।
अर्को खेलमा इङ्ल्याण्ड र सेनेगल तथा फ्रान्स र पोल्याण्ड भिड्नेछन्। यी दुई खेलका विजेताको भेट क्वार्टर फाइनलमा हुनेछ। मोरक्कोले स्पेनको सामना गर्दा पोर्चुगलले स्विट्जरल्याण्डसँग खेल्नेछ। यी दुई खेलका विजेता क्वार्टर फाइनलमा भिड्ने छन्।
नकआउट चरणका खेल तालिका
नकआउट चरणका खेल शनिबार रातिदेखि नै सुरु हुनेछन्। पहिलो खेलमा राति ८ः४५ बजे नेदरल्याण्ड्स र अमेरिका भिड्नेछन्। मध्यराति १२ः ४५ बजे अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल हुनेछ। यी दुई टोलीका विजेताको भेट क्वार्टर फाइनलमा हुनेछ।
आइतबार राति ८ः४५ बजे फ्रान्स र पोल्याण्ड भिड्दा राति १२ः४५ बजे इङ्ल्याण्डले सेनेगलको सामना गर्नेछ। यी दुई खेलका विजेताको भेट पनि क्वार्टर फाइनलमा हुनेछ।
सोमबार राति ८ः४५ बजे जापानले क्रोएसियाको सामना गर्दा राति १२ः४५ बजे ब्राजिल र दक्षिण कोरियाबीच खेल हुनेछ।
मंगलबार राति नकआउट चरणका दुई खेल भएसँगै क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लाग्ने छ। अन्तिम रात मोरक्को र स्पेन ८ः४५ बजे भिड्ने छन् भने पोर्चुगल र स्विटजरल्याण्डको खेल राति १२ः४५ बजे हुनेछ। एकै रात हुने दुई खेलका विजेताको भेट क्वार्टरफाइनलमा हुनेछ।
आगामी शनिबार राति ८ः४५ बजे पहिलो क्वार्टर फाइनल खेल हुनेछ।


















