ब्रसेल्स(बेल्जियम), १८ पौष (बीबीसी) । रुस पछाडि हट्ने सङ्केत नदेखिएको पृष्ठभूमिमा पश्चिमा देशहरू युक्रेनलाई लामो समयसम्म सहयोगका लागि तयार रहनुपर्ने नेटोका महासचिवले बताउनुभएको छ ।
सैन्य सहयोगले एउटा सार्वभौम देशको रूपमा टिकिरहन युक्रेनलाई सघाउ पुग्ने, वार्तामा बस्न रुसलाई दबाव दिने तथा सहमतिमार्फत् युद्धको अन्त्य गराउने एन्स स्टोलटनबेर्गले बीबीसीसँग भन्नुभएको छ।
पश्चिमा देशहरूलाई रुसलाई सिध्याउनका लागि युक्रेनको प्रयोग गरिरहेको रुसी नेताहरूले आरोप लगाउँदै आएका छन्।
नया वर्ष सन् २०२३ को पूर्वसन्ध्या र पहिलो दिनमा रुसी क्षेप्यास्त्र र ड्रोनहरू युक्रेनमाथि बज्रिएका छन्।
गत सेप्टेम्बरमा रुसले युक्रेनमा आंशिक रूपमा सेना परिचालन गरी शुरू गरेको युद्ध रोकिने सङ्केत मस्कोले अहिलेसम्म नदिएको नेटो महासचिवले रेडिओ फोरको वर्ल्ड कार्यक्रमसँग भन्नुभयो।
“कैयौँ महिनासम्म युक्रेनी फौजसँग गति थियो, तर रुसले ठूलो सङ्ख्यामा फौज परिचालन गरेको छ र तीमध्ये धेरै अहिले प्रशिक्षणमा रहेका छन्,” उहाँले थप्नुभयो।
“यी सबै कुराले के सङ्केत गर्छ भने रुस यो लडाइँलाई निरन्तरता दिन चाहन्छ र सम्भवतः उसले नयाँ कारबाही थाल्ने प्रयास गर्नेछ।”

किएभ
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको अवसरमा भाषण गर्दै युक्रेनमा भइरहेको लडाइँको पक्षमा उभिन मानिसहरूलाई आग्रह गर्नुभएको छ।
सो क्रममा उहाँले आफ्नो मुलुकको भविष्य दाउमा रहेको टिप्पणी गर्नुभयो।
उहाँका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीले चाहिँ रुसी फौजलाई नेतृत्व दिनुको साटो पुटिन फौजपछाडि लुकिरहेको आरोप लगाउनु भएको छ।
युक्रेनी सशस्त्र फौजका प्रमुखका अनुसार शनिवार रुसले २० वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेकोमा १२ वटालाई खसालिएको थियो।
नयाँ वर्ष २०२३ को पहिलो दिन शुरू हुनासाथ इरानमा निर्मित ४५ वटा ड्रोन खसालिएको युक्रेनी हवाई सुरक्षा बलले जनाएको छ।
हमलामा कम्तीमा एकजना मारिएको र कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्।
निर्दयी हवाई हमलाहरूबाट आक्रान्त युक्रेनीहरूलाई नयाँ वर्षमा गरिएको हमलाले थप क्रुद्ध र घृणा गर्ने बनायो।
राजधानी किएभमा विस्फोटहरू भइरहँदा कतिपय स्थानीय बासिन्दाले राष्ट्रगान गाएका थिए।
आमनागरिकहरू नयाँ वर्ष मनाउन जम्मा भइरहेका बेला नियतवश हमला गरेको अधिकारीहरूले रुसमाथि आरोप लगाएका छन्।
महासचिव स्टोलटनबेर्गले वार्ताका क्रममा युक्रेन बलियो अवस्थामा हुने कुराको नेटोले सुनिश्चित गर्नुपर्नेमा जोड समेत दिएका छन्।
“हामीले युक्रेनलाई सैन्यसहितका सहायता अहिले उपलब्ध गराउनुपर्छ। किनकि त्यो मात्र एउटा तरिका छ जसबाट हामी रुसलाई वार्ताको टेबुलमा बस्न तथा असल विश्वास एवं युक्रेन एउटा सार्वभौम स्वतन्त्र राष्ट्र रहेको सम्मान गर्दै छलफल गर्न रुसलाई मनाउन सकिन्छ,” उहाँले भन्नुभयो।


















