Prakash Adhikari January 2, 2023

काठमाडौँ, १८ पौष  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आइतबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । इन्डियन आयल कर्पोरेसनबाट मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले जनाएको छ ।

“हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ”, निगमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट आज प्राप्त मूल्यसूचीबमोजिम पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ । मट्टितेलको मूल्य भने केही घटेर आएको निगमले जनाएको छ ।

अहिले आयल निगमलाई हाल खाना पकाउने ग्यासमा तीन सय ५९ रुपैयाँ ५० पैसा घाटा रहेको छ । ग्यासमा मात्रै १५ दिनमा ४६ करोड ४४ लाख बराबर घाटा हुने निगमको अनुमान छ । तर पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको बिक्रीबाट हुने नाफालाई गणना गर्दा समग्रमा निगमलाई १५ दिनमा अनुमानित ९९ करोड बराबर नाफा हुने जनाएको छ ।

निगमले इन्डियन आयल कर्पोरेसन र सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी रु १८ अर्ब भुक्तानी गर्न बाँकी छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७५ रहेको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ९० र बाह्यतर्फ एक दशमलव ६४ अमेरिकी डलर रहेको छ । त्यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रहेको छ ।

Share Now

Leave a comment.