कीर्तिपुर(काठमाडौं), १९ पौष । नेपाली टी–२० लिग क्रिकेट प्रतियोगिता अन्यौलमा परेको छ। आयोजकहरू नै सम्पर्कबाहिर भएपछि टी–२० लिग स्थगितको संघारमा पुगेको हो।
६० प्रतिशत खेलहरू सम्पन्न भइसके पनि खेलाडी तथा अफिसियलले कुनै पारिश्रमिक नपाउँदा मंगलबारबाट हुने खेल अन्यौलमा पुगेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं र विराटनगरबीच मंगलबार हुन लागेको खेल सुरु हुन सकेको छैन्।
आज दुई खेल हुने कार्यक्रम छ । दोस्रो खेल जनकपुर रोयल्स र लुम्बिनी अल स्टार्सबीच हुने निर्धारित कार्य तालिका रहेको छ ।
खेलाडीहरुले ‘टस’ को पेपर नै लिन नमानेपछि खेल सुरु हुन नसकेको हो। विराटनगर, जनकपुर, काठमाडौं र सुदूरपश्चिमको टिमले पारिश्रमिक पाएका छैनन्। खेलमा विराटनगर सुपर किंग्स्, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, पोखरा एभेञ्जर्स, लुम्बिनी अल स्टार्स र फारवेष्ट युनाइटेड गरी ६ टिमको सहभागिता रहेको छ ।
विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबार (आज) देखि खेल नखेल्ने धम्की दिएका थिए।
तर, सोमबार साँझबाट आयोजकहरू नै सम्पर्कभन्दा बाहिर भएपछि प्रतियोगिताका थप खेल नहुने अवस्थामा पुगेको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो।
सन २०२२ को अप्रिल २६ मा नेपाल क्रिकेट संघ र भारतको सेभन ३ स्पोर्ट्सबीच नेपाल टी २० लिग सञ्चालन गर्ने सम्बन्धमा संझौता भएको थियो । संझौता अनुसार सेभेन थ्री स्पोर्टस्ले क्यानलाई ८ बर्षका लागि ३३ करोड रुपैया उपलब्ध गराउने र लिगका सबै खेलको प्रायोजक र प्रचारप्रसारको जिम्मा लिएको थियो ।
पहिलो पटक भएको नेपाल टी २० मा सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन्।


















