काठमाडौं, १३ चैत्र । मुटुको भल्भ बन्द भएर उपचारका लागि जापान गएका पूर्व रक्षा मन्त्री एवम् सांसद भीमसेनदास प्रधानको शल्यक्रियाबाट एक भल्भ खुलेको छ ।
अर्को भल्भ खोल्न बाँकी रहेको छ ।
नेपाल र भारत सो उपचार संभव नभएपछि उनी जापानमा गएका हुन् । टोकियोस्थित शोनान कामाकुरा जनरल अस्पतालमा प्रधानको मुटुको शल्यक्रिया गरिएको हो ।
शल्यक्रियामा सहभागी डाक्टरका अनुसार प्रधानको बन्द भएको दुई भल्ब मध्ये एउटा भल्ब करिब एक घण्टा तिस मिनेटको अन्तिम प्रयास पछि खोलिएको हो । प्रधानकी श्रीमती विद्या वन मालीले जानकारी दिए अनुसार अर्को भल्ब भने तत्काल खोल्न नसकिएको डाक्टरहरुले बताएका छन् ।
प्रधानलाई सन २०११ मा हृदयघात भएको थियो । त्यसपछि उनको मुटुमा स्टण्ड राखिएको थियो ।
काठमाडौं क्षेत्र नं ६ का सांसद प्रधान गत शनिबार जापान गएका हुन ।