Prakash Adhikari January 12, 2023

काठमाडौं, २८ पौष । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागवण्डामा सहमति जुटाउन सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको बताइएको छ ।

यसअघि नै विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिन सत्ता साझेदार दलहरुबीच सहमति भएको थियो ।
प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हिजो बुधबार पनि ओली निवास बालकोटमा छलफल भएको थियो ।

दुई नेताबीच मन्त्रिपरिषद् विस्तारको विषयमा केही गृहकार्य भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज सत्ता साझेदार दलहरुबीच थप छलफल हुनेछ ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ ।

संविधान अनुसार संघीय सरकारमा प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएकाले साझेदार दलहरुको आकारको अनुपातमा संख्या र मन्त्रालय बाँडफाँट गर्ने तयारी छ ।

Share Now

Leave a comment.