काठमाडौ, २९ पौष। नेकपा एमाले परित्याग गर्नुभएका वामपन्थी बौद्धिक राजनीतिज्ञ पूर्वमन्त्री घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने हुनुभएको छ ।
शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उहाँले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्नै हुनुहुन्छ ।
नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल समूहमा हुनुहुन्थ्यो तर पार्टी एकीकृत गर्ने १० सदस्यीय समितिमा रहेको हुनाले उहाँ एमालेबाट समाजवादी चोइटिदा एमालेमै रहनु भयो ।
पार्टीले टिकट नदिएपछि गत २३ असोजमा एमाले परित्याग गर्नुभएका भूसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँलाई नेपाली कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग उहाँ पराजित हुनुभयो ।
एकीकृत समाजवादीमा फर्किएका भूसाललाई समाजवादी पार्टीले कुन जिम्मेवारी दिन्छ भन्ने खुलिसकेको छैन । यद्यपि पार्टीभित्र उनलाई महासचिव वा उपाध्यक्ष पद दिने विषयमा छलफल चलिरहेको छ । हाल एकीकृत समाजवादीको महासचिव पदमा बेदुराम भुसाल मात्र हुनुहुन्छ ।


















