Prakash Adhikari January 13, 2023

पोखरा(कास्की), २९ पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ ।

प्रदेश सभामा विश्वासको मतका पक्षमा भएको मत विभाजनमा नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।

प्रदेशसभाको अध्यक्षता गरेका एमालेबाटै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले मतदानमा भाग लिनुभएन ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहनुभयो । मन्त्री नबन्ने संकेत पाएपछि मनाङेले बिहीबार खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताउनुभएको थिाो ।

एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पौषमा मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

गण्डकीमा पनि खगराजले आफूलाई विश्वासको मत दिन कांग्रेसलाई पत्र नै लेखेर अपिल गर्नुभएको थियो । तर, शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने निर्णय गर्‍यो ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार गण्डकीमा खगराज प्रदेशसभाको ५ वर्षे कार्यकालको पूरा समय मुख्यमन्त्री रहनुहुने छ । तर, माओवादी संसदीय दलका नेता तथा खगराजको पहिलो मन्त्रिपरिषदका सदस्य हरिबहादुर चुमानले गण्डकीमा पनि आलोपालो नै हुने दाबी गरिरहनुभएको छ ।

 

२०७्र० सालमा सांसद नभएरै पनि सुुुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएका खगराज अधिकारी नेकपा विवाद चरम उत्कर्षमा हुँदा १३ दिने गृहमन्त्री बन्नुभएको थियो।

२०४८ सालदेखि चुनाव लडेका खगराज यसपटक कास्की–१ (१)मा माओवादीका दीपक कोइरालालाई हराउँदै सांसद बन्नुभएको थियो ।

२०४८ यता ६ वटा निर्वाचन लडेका खगराजले ३ पटक जित्नुभएको छ भने तीन पटक हार ब्यहोर्नुभएको छ । २०४८ मा तारानाथ रानाभाटसँग पराजित अधिकारीले २०५१ को उपनिर्वाचनमा उहाँलाई हराउनुभएको थियो । २०७४ सालको आम चुनाव जितेका खगराजले २०४८, २०५६ र २०६४ मा हार ब्यहोर्नुभएको थियो ।

 

Share Now

Leave a comment.