Prakash Adhikari January 16, 2023

हेटौडा(मकवानपुर), २ माघ । बागमती प्रदेशको उपसभामुखका लागि आज निर्वाचन हुँदै छ।

निर्वाचन आज दिउँसो ३ बजे बागमती प्रदेश सभा सचिवालय हेटौडामा हुने छ।

उपसभामुखको लागि पौष २९ गते भएको मनोनयन दर्तामा तीन जनाले उम्मेदवारी परेको छ।

सत्ता गठबन्धन तर्फबाट एमालेकी अप्सरा चापागाईं, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुखमा उम्मेदवारी दिनुभएको छ।

एमालेकी चापागाईंले कुमारी मोक्तान प्रस्तावक तथा आशा लामाको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको हो।

यस्तै नेमकिपाको काफ्लेको प्रस्तावकमा सृजना सायजु तथा र समर्थकमा सुरेन्द्रराज गोसाइँ बस्नुभएको छ।

कांग्रेसकी परियारलाई उत्तम जोशीले प्रस्ताव गर्नुभएको छ भने याङ्किला शेर्पाको समर्थन रहेको छ।

सरकारले आज शोकबिदा दिएको भएपनि प्रदेश सभाको पूर्वधिारित बैठक तथा उपसभामुखको निर्वाचन निर्धारित समयमै सञ्चालन हुने प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको छ।

१ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीका २ सांसद निर्वाचित हुनुभएको छ।

Share Now

Leave a comment.