काठमाडौं, ५ माघ। स्वतन्त्र ऊर्जा उत्पादकहरुले उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङदेनसंग भेट गरेका छन् ।
ऊर्जा,सिंचाई तथा जलस्रोत मन्त्रालय सिंहदरबारमा भएको भेटमा ऊर्जा उत्पादकहरुले उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री लिड.देनलाई बधाई दिनुको साथै ऊर्जा क्षेत्रका समस्याहरुको अवगत गराएका थिए ।
उपप्रधान तथा ऊर्जा मन्त्रीसंगको भेटमा इप्पानका प्रतिनिधिहरुले नयाँ आयोजनाका लागि विद्युत खरिद संझौता खोल्न र उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणले किन्ने बन्दोबस्त गर्न ध्यानाकर्षण गराएका थिए ।
प्राधिकरणले गएको बर्खामा २७ जलविद्युत आयोजनाको विद्युत खरिद नगर्दा अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी व्यहोर्नुपरेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको गुनासो छ।
‘गत बर्ष त अझ केहि कम थियो। यो बर्ष उत्पादन बढ्दैछ। प्राधिकरणले १० अर्ब रुपैयाँको नाफा कमाउने उत्पादकहरु ऋण नै तिर्न नसक्ने अवस्था त हुनुभएन,’ स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष गणेश कार्कीले भन्नुभयो,’हामीले त किनिदिन्छ भनेर नै उत्पादन गरिरहेका हौं। सक्दिन भने पहिले नै भनिदिन पर्यो।’
प्राधिकरणले यो बर्खामा ३ हजार मेगावाट जडित क्षमता पुग्ने प्रक्षेपण गरेको छ। नेपालको पिक डिमाण्ड औसतमा १ हजार ६ सय मेगावाट जति छ।
भारतले हालसम्म करिब ४०० मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको छ। आन्तरिक खपत बढाउन सरकारले प्रभावकारी योजना बनाउन सकेको छैन। यही स्थिति रहेमा आउने बर्खा मौसमा १ हजार मेगावाट विद्युत खेर जानसक्ने अवस्था सिर्जना हुने छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुले विगत ४ वर्षदेखि रोकिएको नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खोल्न माग गरेका छन्।
मन्त्रिपरिषदले नै निर्णय गरेको भएपनि प्राधिकरणले नटेरेको भन्दै निजी क्षेत्रमा उत्पादकहरुले तत्काल यसबारे विशेष निर्णय गर्न आग्रह गरेका थिए।
स्वतन्त्र ऊर्जा उत्पादकहरुका अनुसार हाल कुल ११ हजार मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाहरु पीपीए कुरेर बसेको अवस्था छ । आयोजनाको लाइसेन्स लिन र प्रारम्भिक कामहरु गर्न अर्बौ लगानी भैसकेको भन्दै उनीहरुले पीपीए खोल्न आग्रह गरेका हुन् ।
नेकपा माओवादीको नेतृत्वमा रहेको सत्ता गठबन्धनले ६ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको छ।
उपप्रधानमन्त्री लिङदेनले पीपीएका बिषयमा छलफल गर्ने प्रतिक्रिया दिनुभएको थियो।


















