पोखरा(कास्की), ३ फागुन । मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको यात्रीवहाक बस बुधबार कालीगण्डकी नदीमा खसेको छ ।
मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित धम्पु सडकमा दुर्घटना भएको छ।
जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको म्याग्दी कोरला यातायात प्रा.लि.को बस बुधबार बिहान ८:३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
थासाङ गाउँपालिका–३ स्थित कालीगण्डकीमा बस खस्दा १७ जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार १७ जना घाइते भएका हुन् । बस करिब ४५ मिटर तल खसेको हो ।
उनीहरू सबैको उद्धार गरिएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएकाे छ । दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत छन् ।


















