Prakash Adhikari February 16, 2023

काठमाडौं, ४ फागुन । बुधबार राति ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले डा. भण्डारीलाई उपचारका लागि श्री एयरलाइन्सको जहाजबाट बिहीबार नै मुम्बई लाने तयारी भएको जानकारी दिनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पनि भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी भएको बताउनुभएको छ।

मन्त्री गिरी  डा. भण्डारीलाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुग्नुभएको थियो । मन्त्री गिरीले सरकारले सबै उपचार खर्च व्यहोर्ने गरी डा. भण्डारीलाई मुम्बई लाने तयारी भएको जानकारी दिनुभएको छ।

यसैबीच भण्डारीकी आमा ८९ वर्षीया हरिकलाको भने बिहीबार बिहान १० बजेर ५८ मिनेटमा निधन भएको छ।

ग्यास लिक हुँदा उहाँको शरीरको ७० प्रतिशत भाग जलेको थियो। त्यस्तै सांसद डा. भण्डारीको भने २५ देखि ३० प्रतिशत शरीरको भाग जलेको कीर्तिपुर अस्पतालले जनाएको छ।

Share Now

Leave a comment.