मुम्बई(भारत), ५ फागुन । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते हुनुभएका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ । उहाँको आईसीयूमा राखेर उपचार भइरहेको छ।
अस्पतालका डा. सुनिल केस्वानीले दिएको जानकारी अनुसार उहाँको शरीरमा फ्लुडको मात्रा दोब्बर गर्ने काम भइरहेको छ ।
उहाँका अनुसार भण्डारीको बिहान साढे १० बजे पहिलो शल्यक्रिया र दिउँसो साढे १ बजे दोस्रो शल्यक्रिया गर्ने तयारी छ ।
भण्डारीको मुटुको चाल सामान्य रहेको र आत्तिनु नपर्ने अस्पतालले जानकारी दिएको छ । हिजो श्री एअरलाइन्सको चार्टर्ड उडानमार्फत् भेन्टीलेटरमा राखेर भण्डारीलाई थप उपचारका लागि मुम्बई ल्याइएको हो ।
कीर्तिपुरको बर्न अस्पतालले भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको जनाएको छ ।
ग्यास लिक भएपछिको आगलागीमा घाइते हुनुभएकी सांसद भण्डारीकी आमा हरिकलाको भने उपचारका क्रममा हिजो निधन भएको थियो।


















