पोखरा(कास्की), ११ फागुन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले आजदेखि रात्रिकालीन सेवा दिने भएको छ।
यसअघि बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सेवा दिँदै आएको विमानस्थलले अब रात्रिकालीन सेवा दिन लागेको हो। विमानस्थल आजदेखि १८ घण्टा सञ्चालन गर्न लागिएको प्रमुख विक्रम गौतमले बताउनुभयो ।
‘आजदेखि बिहान ६ बजेदेखि राती १२ बजेसम्म विमानस्थल संचालनमा आउँछ, यसका लागि सबै तयारी पूरा छ,’ गौतमले भन्नुभयो, ‘कुनकुन विमान कम्पनीले कतिबेला उडान भर्ने उहाँहरूको कुरा हो।’
अन्तर्राष्ट्रिय विमानस्थल गत पुस १७ गतेदेखि संचालनमा आएको थियो। विमानस्थलमा उपकरणको सहायताले विमान उडान तथा अवतरण गराउने इन्स्ट्रमेन्ट फ्लाइट रुल्स ((आइएफआर) प्रणाली जडान गरिएको छ। सोही प्रणालीले रात्रिकालीन उडान भर्ने विमानलाई उडान तथा अवतरण गर्न निर्देश गर्ने गौतमले बताउनुभयो।
यसअघि पुरानो विमानस्थल भिजुअल फ्लाइट रुल्स (भीएफआर) प्रणालीका आधारमा संचालन गरिएको थियो। उक्त प्रणालीमा एटीसी र पाइलटले आँखाले हेरेर उडान तथा अवतरण गर्थे। भीएफआर प्रणालीका तुलनामा आइएफआर प्रणाली सुरक्षित हुने गौतमले बताउनुभयो।
आइएफआर प्रणाली लागू भएसँगै अब पोखरामा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि संचालन गर्न सकिने भएको छ। यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ विमानस्थल नै अवरूद्ध हुने गरेको थियो।
आइएफआर प्रणालीमा यस्ता समस्याले विमानलाई कुनै असर नगर्ने गौतमको दावी छ ।
पोखरा विमानस्थलले रात्रिकालीन सेवा दिने भएपछि बुद्ध एयरले रात्रिकालीन उडानको तयारी गरेको छ।
पोखरा–काठमाडौं र काठमाडौं–पोखरा रात्रिकालीन उडानको तयारी भइरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताउनुभयो।
‘हामीले पोखराबाट राती ८ बजे काठमाडौं उडान भर्ने योजना बनाएका छौं,’ कर्णले भन्नुभयो, ‘आवश्यकता अनुसार रात्रिकालीन सेवा थपिन सक्छ।’
बुद्धले फागुन २५ गतेदेखि पोखरा काठमाडौं रात्रिकालीन उडानको तयारी गरेको कर्णले जानकारी दिनुभयो।
अहिले पोखराबाट बुद्ध एयरले काठमाडौं, भैरहवा, चितवन र नेपालगञ्ज उडान भर्दै आएको छ। यसअघि पोखराबाट जनकपुर समेत बुद्धले उडान गरेको थियो।
अहिले जनकपुर उडान भने रोकिएको छ। बुद्ध एयरका प्रवक्ता कर्णले अब पोखराबाट झापाको भद्रपुर उडान भर्ने तयारी गरेको बताउनुभयो।
‘यात्रुको माग कहाँ कहाँ छ त्यो हेरेर थप उडान गर्छौं,’ कर्णले भन्नुभयो, ‘पोखरा आउने मान्छे घुम्न फिर्न आउने हुन्, पोखराका मान्छे पनि अन्त घुम्न जानुपर्यो।’


















