Prakash Adhikari March 9, 2023

पोखरा(कास्की), २५ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) बाट नियमित रूपमा रात्रिकालीन उडान हुने भएको छ।

विमानस्थलमा उपकरणका आधारमा विमान उडानरअवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो। हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण भइरहेकामा अब आवश्यकताका आधारमा राति १२ः०० बजेसम्म उडान गर्न सकिने बताइन्छ।

बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो।
उहाँका अनुसार हालसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन्।

“पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि बिहीबारदेखि बुद्धले रातको समयमा समेत औपचारिक उडान सुरु गर्दै छ। बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन्।” गौतमले भन्नुभयो ।

यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि सो उडान नियमित तालिकाअनुसार थिएन। मौसमको खराबीका कारण तालिका ढिलाइ भएकाले राति अवतरण गरेको थियो।

बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले राति ८ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताउनुभएको छ। बुद्धका चारवटा जहाज राति पोखरामा नै रात्रि बिसान गर्नेछन्। कर्णका अनुसार बिहीबार काठमाडौँबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवादेखि पोखरा साँझ ७ः२५ बजे र नेपालगन्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछ।

पोखराको पुरानो विमानस्थलमा आइएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुन सकेको थिएन। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रात्रिकालीन उडानको ढोका खुलेको हो। पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन्। यहाँका पर्यटन व्यवसायीले विगतदेखि नै रात्रिकालीन उडानको माग गरिरहेका थिए।

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो। सोही दिनदेखि आन्तरिक उडान भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुन सकेको छैन।

विमानस्थल सञ्चालनमा आएको दुई महिना पुगिसक्दा समेत एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका पर्यटन व्यवसायी तथा उद्योगी निरास छन् । सरकारले भने अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकहरूसँग कूटनीतिक पहल भइरहेको जनाएको छ ।

Share Now

Leave a comment.