कीर्तिपुर(काठमाडौं), २५ फागुन । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तरगत नेपालमा भैरहेको अन्तिम त्रिदेशीय अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृखलाको पहिलो खेल नेपालले जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिड. गरेको नेपालले दिएको २ सय ९८ रनको चुनौतिपूर्ण लक्ष्य पपुवा न्युगिनीले हासिल गर्न सकेन ।
उसले ५० ओभरको निर्धारित खेल ४७.१ ओभरमा सबै विकेट गुमाउदा जम्मा २ सय ४५ रन मात्र जोड्न सक्यो र नतिजा नेपाललाई सुम्पियो ।
पपुवा न्युगिनीका लागि नर्मन भानुआले ६०, टोनी उराले ५०,असद भालाले ४२, किप्लिड. डोरिगाले २६, रिले हेकुरेले २०, चाल्र्स अमिनीले १४, हिरिहिरिले ८, सेमो क्यामियाले ५, सेसे बौले ३,अलेई नाओले २ रनको योगदान गरे ।
पपुवा न्युगिनीलाई रोक्न नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले ४,दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले ५० ओभरको निर्धारित खेल ४९.१ ओभरमा सबै विकेट गुमाउदै २ सय ९७ रन जोडेको थियो।
नेपालको लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले सर्वाधिक १ सय १० रनको योगफल तयार पारे । उनले यस क्रममा एक दिवसीय खेलमा एक हजार रन पूरा गरेको रेकर्ड कायम गरे भने एक दिवसीय खेलमा पहिलो शतक कायम गरेको रेकर्ड पनि बनाए । उनले १ सय १० बलमा १२ चौका र २ छक्काका मद्दतले १ सय १० रन जोडेका थिए । अर्का ओपनर कुशल भूर्तेलले खेलमा ४५ रनको योगदान गरे । खेलमा कप्तान रोहित पौडेल ३०, आरिफ शेख १५, ज्ञानेन्द्र मल्ल ११, करण केसी ८ र कुशल मल्ल २ रनमा क्याच आउट भए।
दिपेन्द्र सिंह ऐरि ७ रनमा रनआउट भए। सन्दीप लामिछाने ७ रन जोडे भने भीम सार्की ४४ रनमा क्याच आउट भए । सोमपाल कामी ४ रनमा नटआउट रहे।
नेपाललाई रोक्ने क्रममा पीएनजीका सिमो कामिया एक्लैले ५ विकेट लिए। त्यस्तै रिले हेकुरे ३ र अलेई नाओले १ विकेट लिएका थिए ।


















