ढाका(बंगलादेश), ३० फागुन । अन्तर्राष्ट्रिय साखः निर्धारण संस्थाले बंगलादेशका बंैंकहरुको साखः घटाए पछि देशमा आर्थिक संकटको त्रास बढेको छ ।
सार्क राष्ट्रहरूको ग्रह नक्षत्र बिग्रीरहेको छ। सर्वप्रथम श्रीलंका टाट पल्टियो, त्यसपछि २०२३ मा पाकिस्तानको अर्थतन्त्र ध्वस्त हुने संकेत प्रष्ट देखिएको छ भने अहिले बंगलादेश पनि गहिरो संकटको सामना गरिरहेको समाचार आएको छ।
अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी मुडीजले बंगलादेशका बैंकहरूको रेटिङ घटाएपछि त्यहाँको बैंकिङ क्षेत्रमा भूकम्प आएको छ।
मुडीजले बंगलादेशको बैंकिङ क्षेत्रको रेटिङलाई स्थिरबाट ऋणात्मकमा डाउनग्रेड गरेको छ। जसका कारण त्यहाँका बैंकहरुलाई लगानी भित्र्याउन समस्या हुने थालेको छ।
अर्थशास्त्रीहरूका अनुसार मुडीजको यो रेटिङ्ग,जति बैंकिङ क्षेत्रका लागि नराम्रो खबर हो,त्यति नै अर्थतन्त्रका लागि पनि नराम्रो हो। बंगलादेशी मुद्राको मूल्य लगातार घटिरहेको छ भने मुद्रास्फीति उत्कर्षमा छ। यसबाहेक मुलुकको विदेशी मुद्रा सञ्चिति पनि निरन्तर घट्दै गएको छ।
अर्थशास्त्रीहरूले मूडीजको पछिल्लो मूल्याङ्कनपछि सीमापार वित्तीय लेनदेन अझ कठिन हुने औंल्याएका छन्। केही विदेशी संस्थाले बंगलादेशी बैंकको कर्जा सीमा घटाउने निर्णय समेत गरिसकेका छन्।
बंगलादेशको विदेशी मुद्रा सञ्चिति अहिले ३२ अर्ब डलरभन्दा कम छ। अगस्ट २०२१ मा विदेशी मुद्रा सञ्चिति ४८ अर्ब डलर थियो। यसैबीच डलरको तुलनामा पछिल्लो ६ महिनामा बंगलादेशको मुद्रा टाका २७ प्रतिशत घटेको छ। अहिले एक डलरको मूल्य १०७ टाका पुगेको छ । यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि त्यहाँका बैंकहरुको बढ्दो निश्क्रिय सम्पत्ति(एनपीए)प्रति चिन्ता व्यक्त गर्दै बैंकिङ क्षेत्रको नियमन र अनुगमन प्रणालीमा सुधार गर्न सरकारलाई आग्रह गरेको छ।(एजेन्सी)


















