नयाँदिल्ली(भारत), ११ चैत्र । आफ्ना नेता (पूर्वअध्यक्ष) राहुल गान्धीको लोकसभा सदस्य पद खारेज गरिएको विरोधमा भारतीय राष्ट्रिय कांग्रेसले देशभर विरोध प्रदर्शन गर्ने भएको छ।
बीबीसी हिन्दीका अनुसार शुक्रबार साँझ नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले उक्त निर्णय गरेको कांग्रेस महासचिव जयराम रमेशले सञ्चारकर्मीलाई जानकारी दिनुभएको हो। यो आन्दोलन सोमबार देशभर सुरु हुने उहाँले बताउनुभयो।
उहाँका अनुसार ‘हातमा हात मिलाऊ’ अभियानसँगै राहुल गान्धीलाई अयोग्य घोषणा गरिएकोविरुद्ध जनचेतनामूलक कार्यक्रम, संविधान बचाऔँ अभियान सञ्चालन गरिनेछ।
जयराम रमेशले भन्नुभयो, ‘हामीले देशभर गएर मोदी सरकारविरुद्ध आवाज उठाएका कारण राहुल गान्धीलाई जानाजानी अयोग्य घोषणा गरिएको हो।’
उहाँले ‘भारत जोडो यात्रा’ अभियानलगायत आफूहरूका गतिविधिबाट प्रधानमन्त्री मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) उत्तेजित भएको आरोप पनि लगाउनुभयो।
जयराम रमेशले सबै विपक्षी नेताको समर्थनमा आएको अभिव्यक्तिको स्वागत गर्दै अब विपक्षी एकताको विषयलाई व्यवस्थित ढंगले अगाडि बढाउनुपर्ने बताउनुभयो।
यस क्रममा उहाँले भन्नुभयो, ‘कांग्रेस अध्यक्षले संसदमा हरेक दिन विपक्षी दलसँग समन्वय गरिरहनुभएको छ। अब बाहिर पनि गर्नुपर्छ।’
चार वर्ष पुरानो मानहानिको मुद्दामा सुरतको एक अदालतले दुई वर्ष जेल सजायको फैसला सुनाएपछि भारतीय लोकसभा सचिवालयले राहुलको सदस्य पद खारेज गरेको हो।
अदालतले गान्धीलाई सजायविरुद्ध उच्च अदालतमा अपिल गर्न ३० दिनको समय समेत दिएको थियो। तर लोकसभा सचिवालयले उहाँको सांसद पद नै रद्द गरिदिएको हो।
सन् २०१९ को यो मामिला उहाँको ‘मोदी उपनाम’बारे गरेको टिप्पणीसँग सम्बन्धित छ। गान्धीले त्यतिबेला भनेका थिए, ‘सबै चोरहरूको उपनाम किन मोदी हुन्छ ?’
मुद्दा सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित हुुनुभएको थियो।
राहुल गान्धीका वकिलहरूको टोलीले मुद्दा सुनुवाइका क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्याउन नचाहेको जिकिर गर्नुभएको थियो। तर अदालतले उहाँलाई दोषी ठहर्यायो।


















