Prakash Adhikari March 25, 2023

पोखरा(कास्की), ११ चैत्र । कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।

कूल ४४ मेगावाट जडित क्षमताको जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सवस्टेशनमा जडान गरिएको कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँँका अनुसार आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत् गृहलगायत सम्पूर्ण क्षेत्रको काम सम्पन्न भइसकेको छ ।

आयोजना निर्माणमा रू ८ अर्ब ७० करोड खर्च भएको अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

आयोजना निर्माणको काम विसं २०७५ मङ्सिरदेखि थालेको बताउँदै ढुंगानाले २०७८ चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी तथा २०७८ असार १ मा मादी खोलामा आएको बाढीलगायत कारणले केही समय ढिलो भएको उल्लेख गरे ।

सुरुमा रू ७ अर्ब ४७ करोड लागत भनिए पनि बाढी प्रकोप, बैंकको ब्याजदरमा आएको परिवर्तन, अर्थतन्त्रमा देखिएको तरलतालगायत कारणले उक्त लागत बढ्न गएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार बाढीका कारण रू १ अर्बभन्दा बढी नोक्सानी भएको छ । मुख्य सुरुङको लम्बाइ करिब ६ किलोमिटर रहेको र कमजोर भौगोलिक अवस्थाका कारण करिब ८ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गर्दा करिब २५ करोड लागत थपिएको जनाइएको छ ।

आयोजनाका लागि रू २ अर्ब १० करोड शेयर पुँजी रहेको छ । बाँकी सानिमा विकास बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कं लि.को लगानी रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।

वार्षिक २४२.६५ गिगावाट घन्टा बिजुली उत्पादन हुने आयोजनाको सुपर मादी हाइड्रो पावर लिमिटेड प्रवर्द्धक एवं सिभिल ठेकेदार फेवा कन्ट्रक्सन प्रालि, हाइड्रो मेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी प्रा.लि र इलेक्ट्रो मेकानिकल ठेकेदार एशिया प्यासिफिक पावर टेक प्रा.लि र परामर्शदाता सानिमा हाइड्रो एण्ड इञ्जिनियरिङ कम्पनी रहेका छन् ।्र

Share Now

Leave a comment.