Prakash Adhikari March 30, 2023

 

काठमाडौँ, १६ चैत्र । आज गर्ने भनिएको मन्त्रिपरिषद् विस्तार शुक्रबारलाई सरेको छ ।

बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रीहरुको नाममा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति सरेको हो ।

बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्नेगरी बुधबार मन्त्रालय भागबण्डा भएपनि दलहरुले मन्त्रीको नाम पठाउन बिलम्ब गरेपछि सरकार विस्तारको काम शुक्रबारसम्मका लागि समय सरेको हो ।

प्रधानमन्त्री दाहाल शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने तयारीमा हुनुहुन्छ ।

बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शुक्रबार नै मन्त्रीहरुको टुंगो लगाएर शुक्रबार नै सपथको कार्यक्रम गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

सत्तारुढ दलको बैठक सकिएपछि प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलका नेताहरुसँग छुट्टाछुट्टैसमेत छलफल गर्नुभएको थियो । सत्ता साझेदार दलहरुको बीचमा कांग्रेसले आठ, माओवादी पाँच, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले दुई÷दुई र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई एक ÷एक मन्त्रालय दिने सहमति भएको थियो ।

कांग्रेसले टुंग्यायो मन्त्री र मन्त्रालय

नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्री र मन्त्रालयको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले, अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय सम्हाल्ने छ ।

कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, सहरी विकासमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ ।

सरकारमा पार्टीको नेतृत्व गरेर जान लाग्नुभएका उपसभापति खड्का परराष्ट्र र रक्षा मन्त्रालयमा कुन लिने भन्नेमा अझै द्धिविधामा हुनुहुन्छ ।
उपसभापति खड्काले उपप्रधानसहित परराष्ट्र लिए रक्षामा रमेश रिजाल र रक्षा लिए रिजाल परराष्ट्रमा पर्नुहुने बताइएको छ ।

 

 

Share Now

Leave a comment.