Prakash Adhikari April 2, 2023

 

काठमाडौं, १९ चैत्र । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको केन्द्रीय ब्याङ्कका प्रवक्ताले बीबीसीलाई बताउनुभएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार ३१ मार्चमा एकैदिनमा १ हजारले बढेर सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रूपैया पुगेको छ।

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले पछिल्लो समय दुई ठूला अमेरिकी ब्याङ्कहरू धरासायी भएपछि डलरका लगानीकर्ता पनि सुनतर्फ आकर्षित भएको हुनसक्ने ठान्छन्।

अमेरिकी केन्द्रीय ब्याङ्कको ब्याजदर बढाउनुको नकारात्मक असर देखिएको भन्ने बजारको मनोविज्ञान खडा हुँदा अमेरिकी डलरबारे संशय उत्पन्न भएको उहाँले बताउनुभयो ।

लाइन
नेपालको अर्थतन्त्र पेट्रोलियम पदार्थ, गाडी र सुन-चाँदीसँग कसरी जोडिएको छर ?

कारण:

सुन

डलरको चिन्ता र तेलको खस्कँदो मूल्य

अमेरिकी डलर बलियो हुँदै गएको अहिलेसम्मको अवस्था कायम छ।

राष्ट्र ब्याङ्कको शुक्रवारको मूल्य सूची अनुसार १ अमेरिकी डलरको विक्री मूल्य १३२।०५ रुपैयाँ छ।

“तर फेडरल रिजर्भले अब थप ब्याजदर बढाउँदैन भन्ने बजारको संशय देखिन्छ”, प्रवक्ता गुणाकर भट्ट भन्नुहुन्छ।

मार्च महिनामै सिलिकन भ्याली ब्याङ्क (एसभीबी) र सिग्नेचर ब्याङ्क सङ्कटमा परेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाको वित्तीय प्रणाली सुरक्षित रहेको आश्वासन दिए तापनि एसियाली तथा युरोपेली शेयर बजारहरू आश्वस्त हुन सकेका देखिँदैनन्।

सेयर बजारका कारोबारीहरूले समेत सुनमा नै लगानी बढाइरहेको बताइन्छ।

भट्ट थप्नुहुन्छ, “तेलको मूल्य समेत विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले तल आइरहेको छ। आर्थिक मन्दी हुनसक्ने चिन्ता छ।”

लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा मुख्य रूपमा अमेरिकी डलर वा सुन वा पेट्रोलियम पदार्थजस्ता कच्चा पदार्थमा लगानी गर्छन्।

कारोबार ‘ठप्प’
सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले उच्च भाउका कारण नेपाली बजारमा कारोबार अहिले ‘ठप्पजस्तै’ रहेको बताउनुहुन्छ।

“भाउ अझै केही बढ्ने नै देखिन्छ। नेपालीहरूको क्रय शक्ति बढेको छैन। त्यसले सुन बजार निकै सङ्कटमा देखिन्छ”, शाक्य भन्नुहुन्छ,”सुन यति धेरै महँगो भयो कि नेपालीहरूले अत्यावश्यक नपरीकन सुन किन्ने अवस्था छैन।”

नेपालमा दुई साताअघि एकैदिन झण्डै ३ हजार रूपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो।

राष्ट्र ब्याङ्कका प्रवक्ता भट्टले नेपालमा ूविवाहको समयमा मागका दृष्टिले सुनको कारोबार केही बढ्नेू भए तापनि त्यो अन्तर्राष्ट्रिय बजारकै प्रभावले चल्ने बताउनुहुन्छ।

दबावमा उपभोक्ता
विवाहको समयबाहेक तीजको समयमा समेत नेपालमा सुनको माग निकै बढ्ने गरेको विगतको अनुभव छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्यो भने उपभोक्ताले त्यसको उपभोग नगरेर बस्न सक्ने भए तापनि नेपालमा सामाजिक(सांस्कृतिक रूपबाट त्यो सम्भव नहुने भएकाले उपभोक्ताको दृष्टिबाट त्यो चिन्ताजनक समेत मान्ने गरिएको छ।

सुनचाँदी व्यवसायी महासङ्घका भूतपूर्व अध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय रूपमा देखिएका कैयौँ अनिश्चितताको असर सुनमा देखा परेको बताउनुभयो।

“बीचमा केही घट्ला जस्तो देखिएको थियो तर फेरि बढ्ने क्रम नै लियो”, शाक्यले भन्नुभयो।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो पाँच दिनको औसत सुनको मूल्य प्रति औन्स १९७० अमेरिकी डलर देखिएको छ।

“त्यो २,००० डलर पुग्ने बित्तिकै नेपालमा पुनः यसअघिको उच्च विन्दू १ लाख १० हजार रुपैयाँ पुग्छ, अहिलेको सङ्केतमा त्यो अझ उकालो लाग्ने अनुमान छ”, शाक्य थप्नुहुन्छ।

नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको विवरणमा आयातको ३।४ प्रतिशत हिस्सा सुनको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा झण्डै १२ प्रतिशत बढी हो। (बीबीसी)

Share Now

Leave a comment.