काठमाडौं, २८ चैत्र । नेपाल राष्ट्र बैंकले ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या नआएको बताएको छ।
केन्द्रिय बैंकले मंगलबार पत्रकार सम्मेलन गर्दै अहिले समस्या ब्याजदर मात्रै नभएको प्रष्ट पारेको हो।
“आर्थिक गतिविधि कम हुनुमा ब्याजदर मात्रै कारक होइन, त्यसमा अन्य तत्वहरु पनि छन्”, गभर्नर महाप्रसाद अधिकारीले भन्नुभयो “अहिलेको समस्या ब्याज नै बेसी भएर हो कि अन्य आर्थिक गतिविधिहरु हुन नसकेर हो ?”
मंगलबार नै अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेपनि ब्याजदर महँगो भएकोले समस्या भएको बताउनुभएको थियो।
अर्थमन्त्री डा. महतले उद्योग वाणिज्य महासँघको बार्षिक साधारण सभाको समुद्घाटन कार्यक्रममा बोल्दै आहिले अर्थतन्त्रका सबै सूचक सकारात्मक भइसकेको भए पनि ब्याजदर महँगो भएकोले गर्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताउनुभएको थियो। उहाँले ब्याजदर बाहेकका अन्य सबै सूचक ठिकठाक रहेको दाबी गरेका गर्नुभएको थियो।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले पनि अर्थतन्त्रका अन्य सूचकहरु सकारात्मक रहेको र ब्याजदर महँगो भएकोले त्यसलाई घटाउन अर्थमन्त्रालय र राष्ट्र बैंकसँग घनिभुत छलफल भइरहेको बताउनुभएको थियो।
तर राष्ट्र बैंकले भने सरकारको भन्दा फरक धारण प्रस्तुत गरेको छ। केन्द्रिय बैंकले अहिलेको ब्याजदर महँगो नभएको र अर्थतन्त्र चलायमान नहुनुमा ब्याजदर मात्रै कारण नरहेको बताएको हो।
केन्द्रिय बैंकका गभर्नर अधिकारीले ब्याजदर महँगो भएको भन्दै राष्ट्र बैंकप्रति नै औला ठड्याएकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो। “हामीलाई देख्नु भएको छ। हामी तिरै औला ठडाउनु भएको छ। हामीलाई खुसी लाग्छ। राष्ट्र बैंकप्रतिको आशा जगाएका छन्। तर एउटा उत्पादनको लागतमा ब्याजको हिस्सा कति हुन्छ। यो विश्लेषण गरौ”, उहाँले भन्नुभयो।
गभर्नर अधिकारीले यो भन्दा अघि पनि ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको भन्दै अहिलेको ब्याजदर महँगो नरहेको बताउनुभएको छ। “हिजो पनि १३ प्रतिशत पुगेको थियो त्यतिबेला आर्थिक कृयाकलाप भइरहेका थिए। आम्दानी भइरहेको थियो त्यसले गर्दा बेवास्था गरेका थिए। अहिले आर्थिक क्रियाकलाप सुस्त भएको मात्रै समस्या आएको हो”, उहाँले भन्नुभयो ।
गभर्नर अधिकारीले अहिले तरलता केहि सहज हुन थालेकाले ब्याजदर स्वतः घट्दो क्रममा जान थालेको बताउनुभयो। तर अहिले नै जनताले यसको अनुभुति गर्न नपाएको भने उहाँले स्वीकार गर्नुभयो । उहाँले उदाहारण दिँदै भन्नुभयो, “एउटा खाल्डोमा भरी पानी थियो। त्यो सबै पानी फालियो। त्यसमा विस्तारै भर्दै जाँदा जब भरिएर बाहिर पोखिन्छ तब मात्रै अरुलाई अनुभव हुन्छ। तरलतामा सुधार भयो तर त्यसको अनुभव व्यवसायीले गर्न पाएका छैनन्।”
गभर्नर अधिकारीले ब्याजदरको जिम्मा धेरै पहिलेदेखि नै बजारलाई छोडेको स्पष्ट पार्नुभयो। “राष्ट्र बैंकले ब्याजदर निर्धारणको जिम्मा बजारलाई नै छोडेको छ”, उहाँले भन्नुभयो, “एउटा गाइडेन्स गरिरहेका छौ तर बैंक तथा वित्तीय संस्थाले आफ्नो तरलताको अवस्थाको आधारमा ब्याजदर निर्धरण गर्छन।”
ब्याजदरको अन्तिम लाभकर्ता सर्वसाधारण हुनुपर्छ भन्ने धारणा राष्ट्र बैंकको रहेको उहाँले भन्नुभयो। त्यसले गर्दा स्प्रेड दर ४.४ प्रतिशत तोकिएको छ। ब्याज जति बढेपनि बैंकले ब्याज ४.४ प्रतिशत नै पाउने हो। ब्याजदर बढ्दा निक्षेपकर्ताले लाभ पाउछन् भने घट्दा ऋणीले लाभ पाउने उहाँले बताउनुभयो।


















