Prakash Adhikari April 16, 2023

काठमाडौं, ३ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथ ग्रहण र पदबहाली आज हुने भएको छ ।

बिहीबार भएको चुनावबाट चुनिएका वरिष्ठ उपाध्यक्षदेखि सबै सदस्यले आज पद तथा गोपनीयताको शपथ खाने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

महासंघको विधानअनुसार यसअघिका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुरूप महासंघको नेतृत्व लिएका चन्द्र ढकालले भने गत शुक्रबार नै शपथ ग्रहण गरिसक्नुभएको छ ।

२९ चैत्रको चुनावबाट निर्वाचित पदाधिकारी र सदस्यलाई अध्यक्ष ढकालले शपथ ग्रहण गराउनु हुने छ ।

हालै सम्पन्न चुनावमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी हुनुभएको छ भने जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य, एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित सदस्यलाई आज प्रमाणपत्र प्रदान गरी शपथ ग्रहण गराउने कार्यक्रम छ भने लगत्तै नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने तयारी छ।

‘प्रमाणपत्र वितरण, आज शपथ, र कार्यसमितिको बैठक बस्ने जानकारी आएको छ’, वस्तुगत तर्फबाट नवनिर्वाचित कार्यसमिति सदस्य नानिराज घिमिरेले भन्नुभयो ,‘तीनवटै काम आज गर्ने भनिएको छ।’

महासंघको विधानअनुसार कोषाध्यक्ष भने कार्यसमितिले चयन गर्दछ।

Share Now

Leave a comment.