काठमाडौं, ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले शपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गण्ोशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो । आजै मन्त्री साउदले मन्त्रालय पुगी पदभार सम्हाल्नुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि २०७० सालमा सिँचाईमन्त्री र विसं २०५७ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री हुनुभएको थियो । कांग्रेस नेता साउँद विसं २०५६ र २०७० मा कञ्चरपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) सँग जोडिएर राजनीतिमा होमिनुभएका उहाँ विसं २०४३ मा नेविसङ्घको उपसभापति हँुदै २०४८ सालमा केन्द्रीय सभापति हुनुभएको थियो । पिता खड्गसिंह साउद र माता कौशिल्यादेवी साउदको कोखबाट विसं २०१९ साउन २५ गते (सन् ९ अगष्ट, १९६२) डडेल्धुरामा जन्मनुभएका उहाँको स्थायी ठेगाना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ हो ।
उहाँले भारत, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, संयुक्त अधिराज्य, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, फ्रान्स, जर्मनी, फिलिपिन्स, दक्षिण कोरिया, इजिप्ट, जापान, सिङ्गापुर, कतार, थाइल्याण्डलगायत देशको भ्रमण गर्नुभएको छ ।
छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँने
नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताउनुभएको छ ।
मन्त्रालयमा आज पदभार सम्हाल्दै उहाँले नेपाल शान्तिपूर्ण मुुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्नुभयो । मन्त्री साउदले भन्नुभयो, “हामीले आगामी दिनमा पनि विश्वका सबै देश र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउँदै लैजानेछौँ ।” यसले नेपाल विश्वमा शान्तिपूर्ण र लोकतान्त्रिक मुलुकका रूपमा चिनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आजै मन्त्रीमा नियुक्त उहाँलाई यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।


















