Prakash Adhikari April 19, 2023

 

काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गोविन्द भट्टराईको चुनाव प्रचारमा तनहुँ जानुहुने भएको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनको लागि तनहुँको डुम्रेमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न उहाँ तनहुँ जान लाग्नुभएको हो।

कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले डुम्रेमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न सभापति देउवा तनहुँ आउने कार्यक्रम रहेको जानकारी दिनुभएको छ। सभा दिउँसो २ बजे हुँदैछ।

जिल्ला सभापति आलेले डुम्रेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि तनहुँ आउने कार्यक्रम रहेको बताउनुभयो।

यसअघि मंगलबार मात्र तनहुँ–१ कै दमौलीमा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गरेको थियो।

तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

उम्मेदवार गोविन्द भट्टराईविरुद्ध भर्खरै कांग्रेस छाडेका अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेसको परम्परागत भोट बैंकको मत काटिने संभावना देखिएको छ।

यहाँ नेकपा एमालेले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वोन्द्र खनाललाई उम्मेदवार बनाएको छ।

Share Now

Leave a comment.