Prakash Adhikari April 9, 2018

कठमाडौं, २६ चैत्र । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले हरेक नागरिकको स्वच्छ वातावरणमा बस्न पाउने संवैधानिक अधिकारको संरुक्षण र प्रत्याभूतिको लागि पनि फोहर पानी र ढलको समुचित प्रशोधन र व्यवस्थापन आवश्यक भएको बताउनुभएको छ ।

नेपालमा फोहर पानी प्रशोधनको विकेन्द्रीत मार्गचित्र ः दक्षिण एशियाली अनुभवबाट सिकाई विषयक एकदिवसीय अन्तराष्ट्रिय गोष्ठीको आज राजधानीमा समुदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै उहाँले पानीको अभावलाई पूर्ति गर्ने, वातावरण स्वच्छ पार्ने र सफा पानीको स्रोतलाई जोगाउनका लागि पनि फोहर पानीको प्रशोधन अनिवार्य भएको बताउनुभयो ।

उहाँले सन २०३० सम्म संयुक्त राष्ट्र संघद्धारा निर्धारित दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेको हुनाले नेपाललै सरसफाईको क्षेत्रमा विशेष तयारीका साथ काम गर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले कानूनी व्यवस्था, उपयुक्त संरचनाको निर्माण, व्यवस्थापकीय पक्षहरुलाई संबोधन गर्दै सबै तहका सरकारको सक्रियता र समन्वयमा स्वच्छ वातावरणमा बस्न र बाच्न पाउने नेपाली नागरिकको अधिकारको प्रत्याभूति गरिने पनि बताउनु भयो ।

मन्त्री बस्नेतले घर,परिवार,टोल,समुदाय,गाँउ र नगरलाई स्वच्छ र सफा राख्नका लागि व्यक्ति,घर,परिवारले गर्न हुने र नहुने कामको बारेमा पनि गोष्ठीले सुझाव संकलन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले फोहरलाई पनि स्रोतको रुपमा प्रयोग गर्न सकिने वताउदै भन्नुभयो, हरेक प्रकारको फोहर मोहरमा बदल्न सकिन्छ ।

उहाँले फोहर पानीलाई प्रशोधन गरेर शुद्धबनाउन ९ गुणा खर्च लाग्ने बताउदै भन्नुभयो,“ यसैले प्रदूषण गर्नु अपराध हो र प्रदूषकहरुलाई दण्ड वा जरिवाना गरिने व्यवस्था गर्नुपर्दछ ।”

उहाँले फोहर पानीलाई प्रशोधन गरी शुद्ध पारेर मात्र अन्य पानीको स्रोतमा मिसाउन पाइने व्यवस्था गर्नको लागि प्रशोधित पानीको गुणस्तरको पनि मापदण्ड बनाउनु पर्ने बताउनुभयो ।

पूर्वमन्त्री साहले स्वच्छ र सफा पानीको ऐन ल्याएमा कार्यान्वयनलाई सघाउ पुग्ने सुझाव दिनुभएको थियो ।

कार्यक्रममा नेपाल इञ्जिनियर्स एशोसियसनका अध्यक्ष ई. हरेराम श्रेष्ठले जनसंख्या बढैपछि फोहर पनि बढने भएकोले वातावरण स्वच्छ राख्न निसृत फोहरको समुचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विल एण्ड मिलिन्दा गेट्स फाउण्डेशनका डा. रोशनराज श्रेष्ठले दक्षिण एशियाका देशहरुमा फोहर पानी प्रशोधनमा धेरै किसिमका प्रविधिमा आधारित थुप्रै प्रणालीहरु प्रयोगमा आइसकेकोले दिगो विकासका लक्ष्यहरु हासिल गर्न तिनलाई तीव्र गतिमा विस्तार गरी उपयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रमलाई वातावरण तथा स्वास्थ्य संस्थाका अध्यक्ष तथा वातावरणविद् भूषण तुलाधरले नेपालमा ९६ प्रतिशत घरपरिवारमा चर्पीको सुविधा भए पनि चर्पीमा जम्मा भएको फोहरको व्यवस्थापन चुनौति पूर्ण रहेको बताउनुभयो ।

ढल र नालीबाट निसृत फोहर पानीको प्रशोधनमा ठूला प्रणाली सञ्चालन गर्दा पूर्वाधार निर्माण र फोहर प्रवाहित गर्न बढी खर्च हुने भएकोले साना वस्तीका फोहर स्थानीय तहमा नै प्रशोधन गर्ने प्रविधि र अनुभवहरुलाई बढाउदै लैजानु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स अफ नेपाल(सोफेन)का अध्यक्ष इं रामदीप साहले यसै बर्ष सम्पन्न निर्वाचनबाट स्थानीय र प्रादेशिक तहमा आएका राजनीतिक नेतृत्व सरसफाईप्रति अत्यन्त संवेदनशील देखिएको र उहाँहरु साझेदारीमा काम गर्न इच्छुक देखिएकोले यो अवसरलाई सरकारले पनि समुचित ढंगले संबोधन गर्नुपर्ने बताउनु भयो ।

मंगलबारदेखि आयोजना हुने पानी,वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट््िरय सम्मलेनको पूर्व कार्यक्रमको रुपमा रहेको आजको गोष्ठीमा साना स्तरका सरसफाई प्रणालीका बारेमा नेपाल, भारत, वंगलादेश र पाकिस्तानका अनुभवहरुमा आधारित कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको छ ।

गोष्ठीको समुद्घाटन समारोह सोफेनका अध्यक्ष ई. रामदीप शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share Now

Leave a comment.