भिजूअल जर्नालिजम टिम / बीबीसी
लण्डन(संयुक्त अधिराज्य), २१ वैशाख । संयुक्त अधिराज्यका साथै अन्य देशका दशौँ लाख मानिसहरू धार्मिक एवं परम्परागत समारोहको सम्मिश्रण हुने राजा चार्ल्स तृतीयको राज्याभिषेकको उत्सव मनाउने प्रतीक्षामा छन्।
मे ६ तारिखका दिन उक्त समारोह लन्डनस्थित वेस्टमिन्स्टर एबीमा हुने छ। जहाँ राजा चार्ल्स तथा उहाँकी पत्नी क्वीन कन्सोर्ट कमिलालाई राजमुकुट पहिर्याइने छ। सन् १०६६ यता त्यहाँ त्यसरी राजमुकुट पहिरिने उहाँ ४०औँ शासक हुनुहुनेछ।
भव्यता र औपचारिकताको उक्त दिन १ हजार वर्षभन्दा अगाडिदेखि अभ्यास हुँदै आएका कतिपय परम्परा प्रदर्शन गरिने छ। उक्त दिनका कार्यक्रमहरू यस प्रकार हुने अपेक्षा छ।
बिहान ६ बजे
औपचारिक उत्सवको दिन बकिङ्घम दरबारदेखि वेस्टमिन्स्टर एबीसम्मका सवारी तथा राज्याभिषेक यात्राका मार्गका साथै आमन्त्रित सर्वसाधारणले अवलोकन गर्ने क्षेत्रहरू स्थानीय समयानुसार बिहान ६ बजे नै खुल्ने छन्।

राज्याभिषेक यात्रा मार्ग
द मल र ह्वाइटहल क्षेत्रबाट सवारीको अवलोकन गर्नका निम्ति पहिले आउनेले प्राथमिकता पाउने छन्। ती ठाउँ भरिएपछि आएका मानिसहरूलाई हाइड पार्क, ग्रीन पार्क वा सेन्ट जेम्सेज् पार्कमा रहेका ‘पब्लिक स्क्रीनिङ’ गरिने स्थानमा पठाइने छ।
अवकाशप्राप्त सैनिक वा एनएचएस वा सामाजिक हेरचाह संस्थामा काम गर्ने आमन्त्रित पाहुनाहरूका निम्ति बकिङ्घम दरबारबाहिर बस्ने व्यवस्था मिलाइने छ।
वेस्टमिन्स्टर एबीतर्फको यात्रामा सामेल हुने खासगरी ‘सोभरिन्स एस्कोर्ट अफ हाउसहोल्ड क्याभार्ली’का झन्डै २०० सदस्य शनिवार बिहानैदेखि भेला हुन थाल्नेछन्।
बन्दोबस्ती गर्ने थप १,००० कर्मचारीहरू मार्गमा खटिने छन्। तर समग्रमा यात्रामा सहभागी हुनेको सङ्ख्या सन् १९५३ को दाँजोमा कमै हुने छ। त्यतिबेला राज्याभिषेक शोभायात्रामा अन्य देशका राजपरिवार तथा राष्ट्रमण्डल देशका प्रधानमन्त्रीहरू पनि सहभागी भएका थिए।
सवारी आरम्भ
बकिङ्घम दरबारबाट सवारी यात्रा द मल हुँदै ट्रफ्याल्गर स्क्वाएरमा पुग्ने छ र त्यहाँबाट ह्वाइटहल र पार्लियामन्ट स्ट्रीट हुँदै पार्लियामन्ट स्क्वाएर र ब्रोड स्याङ्क्चुअरीतर्फ लाग्ने छ र वेस्टमिन्स्टर एबीको विशाल पश्चिमी ढोका ‘ग्रेट वेस्ट डोर’ मा पुग्ने छ।
परम्पराभन्दा भिन्न हुनेगरी राजा चार्ल्स र क्वीन कन्सोर्ट कमिला पुरानो सुनौलो ‘स्टेट कोच’ बग्गीमा नभई ‘हीरक जयन्ती स्टेट कोच’ नामक बग्गीमा सवार हुने छन्। पुरानो बग्गी अलि असुविधाजनक थियो।

वेस्टमिन्स्टर एबीमा प्रवेश
सवारी ११ बजेभन्दा केही बेरअघि एबीमा आइपुग्ने अपेक्षा छ। राजा चार्ल्सले सैन्य पोसाक लगाउने अनुमान गरिएको छ। पहिलापहिलाका राजाहरूले चाहिँ परम्परागत ब्रिचेज र रेसमी स्टकिङ लगाउँथे।

राज्याभिषेक पोसाक
,
राजा चार्ल्सले सैन्य पोसाक लगाउने ठानिएको छ। उहाँका हजुरबुबा जोर्ज छैटौँले भने राज्याभिषेकमा ब्रिचेज र स्टकिङ लगाउनुभएको थियो।
११ बजे

राजा चार्ल्स ग्रेट वेस्ट डोरबाट प्रवेश गर्नुहुनेछ अनि नेभ हुँदै एबीको मध्यभागमा पुग्नुहुने छ।
वेस्टमिन्स्टर एबीभित्र
समारोहहरू ११ बजेदेखि आरम्भ हुने छन्। बीचबीचमा राजाले नै रोजेका सङ्गीत बज्ने छ। त्यसमा १२ वटा नवनिर्मित धुन छन् – एउटा एन्ड्रू लोयड वेबरको अनि राजाका पिता राजकुमार फिलिपको सम्झनामा बनाइएको ग्रीक अर्थोडक्स सङ्गीत हुने छ।
राजाका नाति राजकुमार जोर्ज अनि क्यामिलाका नातिनातिना लोला, एलिजा, गस, लुई र फ्रेडी वेस्टमिन्स्टर एबीमा ‘पेज’ का रूपमा सहभागी हुने छन्।
एबीभित्रैको यात्रामा सहभागीमध्ये केहीले राजाको अघिअघि शाही सामग्रीयुक्त ‘रिगेलिया’ बोक्नेछन्। तिनलाई समारोहमा आवश्यक नपर्दासम्म गिर्जाघरको ‘अल्टर’मा राखिने छ।
के हो रिगेलिया ?
राजपरिवारको वेबसाइटमा उल्लेख भएअनुसार राज्याभिषेकका बेला रिगेलिया – राजमुकुट, ओर्ब र राजदण्डजस्ता शाही सामग्रीहरू – प्रयोग गर्ने यूके एक मात्र युरोपेली देश हो।
ती प्रत्येक शाही सामग्रीले राजाको विशिष्ट सेवा तथा कर्तव्य जनाउँछन्।
राजा चार्ल्सलाई सोभरिन्स ओर्ब, क्रससहितको राजदण्ड अनि डोभसहितको राजदण्ड एवं अन्य शाही सामग्री क्रमैसँग समारोहका बेला प्रदान गरिने छन्।

रिगेलिया
करिब २ घण्टाको समारोह विभिन्न चरणमा आयोजित हुने छ।
पहिलो चरण: मान्यता
एङ्ग्लोस्याक्सन कालदेखि नै चल्दै आएको चलनबमोजिम राजा चार्ल्सलाई ‘जनता’ समक्ष प्रस्तुत गरिने छ।
राज्याभिषेकका लागि प्रयोग गरिने ७ सय वर्ष पुरानो विशेष आसनछेउ उभिएर आर्चविशप अफ क्यान्टर्बरी जस्टिन वेलेबीले एबीको हरेक दिशामा फर्किएर चार्ल्सलाई ‘कुनै दुबिधा नरहेको’ राजा घोषणा गर्नुहुने छ र उपस्थित व्यक्तिहरूलाई उनीप्रति भक्ति र सम्मान प्रकट गर्न भन्नुहुने छ।
उपस्थित मानिसहरू ‘गड सेभ द किङ्१’ अर्थात् ‘ईश्वरले राजाको रक्षा गरून्’ भनेर ठूलो स्वर निकाल्ने छन्। उनीहरूको आवाजसँगै ट्रम्पेट बजाइने छ।
राज्याभिषेक आसन वा सेन्ट एड्वर्ड्ज आसन वा किङ् एडवर्ड्ज आसनलाई यूकेमा अहिले पनि पहिलेकै जस्तो कार्यमा प्रयोग हुँदै आएको सबभन्दा पुरानो आसन मानिन्छ। कुल २६ शासकहरूलाई यस आसनमा राखेर राजमुकुट पहिर्याइएको छ।

राज्याभिषेक आसन
यो आसनलाई इङ्ग्ल्यान्डका राजा एड्वर्ड प्रथमको आदेशमा बनाइएको थियो र यसमा स्कट्ल्यान्डबाट झिकाइएको ‘स्टोन अफ डेस्टिनी’ राखिएको थियो।
स्कटल्यान्डको राजसंस्थाको प्राचीन निसानी उक्त विशेष प्रस्तरलाई सन् १९९६ मा स्कटल्यान्डलाई नै फिर्ता गरियो। तर यो समारोहका निम्ति त्यसलाई लन्डन ल्याइने छ।
राज्याभिषेक समारोहका बेला उक्त ओक (बाँझ)को काठबाट बनेको आसनलाई ‘कोस्माटी पेभमन्ट’ भनिने ऐतिहासिक मध्ययुगीन मोजेइक बिच्छ्याइएको भुइको मध्यभागमा राखिने छ। समारोहको धार्मिक प्रकृति स्पष्ट हुनेगरी उक्त आसनलाई गिर्जाघरको मुख्य हाई अल्टरअगाडि राखिने छ।

हाई अल्टर
दोस्रो चरण: शपथ
आर्चविशप अफ क्यान्टर्बरीले राज्याभिषेकको शपथ गराउने छन् – यो एउटा अनिवार्य विधान हो। राजा चार्ल्सलाई उहाँको शासनकालमा उहाँले कानुनको परिपालना गर्ने गराउनु हुनेछ चर्च अफ इङ्ग्ल्यान्डको रक्षा गर्नुहुनेछ भनेर शपथ लिन लगाइने छ। ‘होली गोस्पेल’ मा हात राखेर राजाले ती वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुने छ।
ब्रिटेनका मानिसहरूले पालना गर्ने विभिन्न धर्म र आस्थालाई पनि सम्मान गरिएको जनाउनेगरी राजा चार्ल्सले आफ्नो शपथको पाठमा केही शब्द थप्न सक्ने छन्। तर त्यो सम्भवतः आधिकारिक शपथको अङ्ग भने हुने छैन र त्यसरी केही शब्द थपिनेबारे कुनै पुष्टि भइसकेको पनि छैन।
तेस्रो चरणः अभिषेक
राजाले पहिरेको ‘सेरेमोनियल रोब’ निकालिने छ र उनी राज्याभिषेक आसनमा बस्ने छन्। त्यहाँ उहाँको अभिषेक हुने छ जसले चर्च अफ इङ्ग्ल्यान्डका प्रमुख समेत रहने राजाको आध्यात्मिक हैसियतमा जोड दिने छ।
एम्पुला – सुनको भाँडा – बाट विशेष तेल झिकेर आर्चविशपले राज्याभिषेक स्पुन – विशेष चम्चा ( मा राख्नुहुने छ। त्यसपछि उहाँले राजाको शिर, छाती र हातहरूमा क्रसको सङ्केत बनाउँदै त्यसले अभिषेक गर्नुहुने छ।
एम्पुला चार्ल्स द्वितीयको राज्याभिषेकका बेला बनाइएको हो। राज्याभिषेक स्पुन अझ पुरानो हो। इङ्ग्लिश गृहयुद्धका बेला ओलिभर क्रोम्वेलले रिगेलिया नष्ट गरिदिँदा पनि यो जोगिएको थियो।

एम्पुला र स्पुन
यो समारोहमा प्रयोग हुने तेल राज्याभिषेककै निम्ति भनेर जेरुसलेमको ‘माउन्ट अफ ओलिभ्स’मा रहेका दुई ओलिभ बगैँचामा फलेका ओलिभबाट निकालिएको हो। सो सहरमा रहेको ‘चर्च अफ होली सेपलकर’ भनिने प्राचीन र अतिमहत्त्वपूर्ण गिर्जाघरमा गरिने एउटा विशेष समारोहमा त्यो तेलको शुद्धि गरिन्छ।
यतिखेरको समारोहमा राजालाई अरूले नदेखून् भनेर उहाँ बसेको आसनमाथि कुनै प्रकारको छाताले ढाकिने छ। यसलाई समारोहकै सबभन्दा पवित्र भाग मानिन्छ।
चौथो चरणः मुकुट पहिरन
यही चरणमा राजालाई राजमुकुट पहिर्याइने छ। जीवनमा यही एक पटक राजाले ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिनुहुने छ।
उक्त मुकुटको नाम पहिलेका एङ्ग्लोस्याक्सन राजा तथा सेन्ट एड्वर्ड द कन्फेसरका निम्ति बनाइएको मुकुटबाट लिइएको हो। पुरानो मुकुटलाई सन् १२२० पश्चात् हरेक राज्याभिषेकमा प्रयोग गरिएको थियो तर क्रोम्वेलले त्यसलाई पगालिदिनुभएको थियो।
राजा चार्ल्स द्वितीयको पालामा उहाँलाई पनि पहिलेकै जस्तो मुकुट चाहिएको हुनाले थप भव्यतासहित अहिले प्रयोग हुँदै आएको नयाँ मुकुट बनाइएको थियो।

सेन्ट एड्वार्ड्ज राजमुकुट
यो राजमुकुट पहिरिने राजा चार्ल्स तृतीय सातौँ शासक हुनुहुने छ। यसअघि राजा चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ, अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिनुभएको थियो। उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उहाँको राज्याभिषेकमा पहिरिनुभएको थियो ।
सबभन्दा पहिले राजालाई सोभरिन्स ओर्ब, राज्याभिषेक औँठी, क्रससहितको राजदण्ड र डोभसहितको राजदण्ड अर्पण गरिने छ।
त्यसपश्चात् आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा राखिदिने छन्। ट्रम्पेट बाजा बजाइनेछ भने यूकेभरि तोपको सलामी अर्पण गरिने छ।
टावर अफ लन्डनमा ६२ तोपको सलामी चढाइने छ भने होर्स गार्ड्स् परेडमा छ पटक तोप पड्काइने छ। एडिन्बरा, कार्डिफ र बेल्फास्टसहित यूकेका ११ विभिन्न स्थानमा अनि रोयल नेभीका पानीजहाजमा २१ तोपको सलामी चढाइने छ।
पाँचौँ चरणः गद्दी आरोहण
समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण गर्नुहुने छ। उहाँलाई आर्चविशप, विशपहरू तथा अधिराज्यका अन्य पीअरहरूले (हाउस अफ लर्ड्सका सदस्य) बोकेर गद्दीमा विराजमान गराउन पनि सक्ने छन्।
त्यसपछि पालैपालो राजपरिवारका अन्य सदस्य तथा पीअरहरूले राजाका सामु घुँडा टेकेर उनलाई बफादारीको वचन दिने र उनको दाहिने हात चुम्ने परम्परा छ।
तर यसपालि केवल राजकुमार विलियम मात्र त्यसो गर्ने शाही ड्यूक हुने ठानिएको छ।
क्वीन कन्सोर्ट
लगत्तै क्वीन कमिलाको अभिषेक गरिने छ र उहाँलाई पनि मुकुट पहिर्याइनुका साथै आसनमा विराजमान गराइने छ। उहाँको हकमा यी समारोह तुलनात्मक रूपमा साधारण हुने छन्। उनले कुनै शपथ लिनुपर्ने छैन।
उनलाई ‘क्वीन मेरीज् क्राउन’ पहिर्याइने छ। उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो। त्यसलाई थोरै परिवर्तन गरेर केही आर्चहरू हटाइएका छन् भने त्यसमा कुलिनन तेस्रो, चौथो र पाँचौँ हीरा जडिएका छन्।

क्वीन मेरिज क्राउन
प्रस्थान
राजा र क्वीन कन्सोर्ट गद्दीबाट ओर्लिनु हुने छ र त्यसपछि उहाँहरू सेन्ट एड्वर्ड्ज च्यापलतर्फ लाग्ने ठानिएको छ। त्यहाँ पुगेर चार्ल्सले सेन्ट एड्वर्ड्ज क्राउन फुकाल्नु हुने छ र इम्पेरियल स्टेट राजमुकुट पहिरिनु हुने छ। राष्ट्रगानका साथमा उहााँको सवारी एबीबाट बाहिरिने छ।

इम्पेरियल स्टेट क्राउन
त्यसपछि राजा र क्वीन कन्सोर्ट पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ फर्किनु हुने छ। यस पटक भने उहाँहरू २ य ६० वर्ष पुरानो सुनौलो स्टेट कोच बग्गीमा सवार हुनुहुने छ । जुन सन् १८३१ मा विलियम चतुर्थको राज्याभिषेकयता सबैको राज्याभिषेकमा प्रयोग भएको छ।

सुनौलो स्टेट कोच बग्गी
सुनौलो स्टेट कोच बग्गीको पछिपछि अर्को क्यारेजमा राजकुमार विलियम र राजकुमारी केट अनि उहाँका छोराछोरी राजकुमार जोर्ज र लुई अनि राजकुमारी शार्लट पनि यात्रामा सहभागी हुने विवरणहरू आएका छन्।
यस समारोहमा यूकेको सेनाको ४ हजार सदस्यले भाग लिने छन्। रक्षा मन्त्रालयले त्यसलाई एक पुस्तायता कुनै पनि समारोहमा हुने सबभन्दा विशाल सैन्य सहभागिता भनेको छ।

पोशाक ग्यालरी
त्यसबाहेक राष्ट्रमण्डलका सदस्य राष्ट्र अनि ब्रिटिश ओभरसीज टेरिटोरिजका प्रतिनिधिहरू पनि सहभागी हुने छन्।
रोयल ब्रिटिश लिजनले पार्लियामन्ट स्क्वाएरस्थित सवारी यात्रा मार्गमा १०० जनाको सम्मान गारद ‘गार्ड अफ अनर’ तैनाथ गर्ने छ।

राज्याभिषेक यात्रा मार्ग दरबारतर्फ
एबीदेखि दरबारको प्राङ्गणसम्म यो मार्ग झन्डै २.२९ किलोमिटर छ। राजा र क्वीन कन्सोर्टलाई शाही सलामी अर्पण गरिने छ।
सन् १९५३ मा गरिएको राज्याभिषेक यात्राको बेला सवारी मार्ग ६.४३ किलोमिटर लामो थियो र यात्रालाई कुनै एउटा बिन्दु पार गर्न ४५ मिनेट लागेको थियो।
बकिङ्घम दरबार फ्लाई पास्ट
सन् १९०२ मा राजा एड्वर्ड सप्तमको पालादेखि नयाँ राजाले बकिङ्घम दरबारबाट द मलमा रहेका मानिसहरूलाई अभिवादन गर्ने क्रममा फ्लाई पास्टको आयोजना हुन थालेको छ। सन् १९५३ मा महारानीका साथ उनकी आमा, बहिनी तथा छोराछोरीले सयौँ विमानको उडानसहितको फ्लाई पास्टलाई दरबारको बाल्कोनीबाट अवलोकन गरेका थिए।

बकिङ्घम दरबारको बाल्कोनी
राजा चार्ल्स र क्वीन कन्सोर्ट कमिलाले यो परम्परा कायम राख्ने बकिङ्घम दरबारले पुष्टि गरेको छ। तर त्यसमा राजपरिवारबाट कोको सरिक हुने छन् भन्ने स्पष्ट भइसकेको छैन।
त्यहाँ उपस्थित व्यक्तिहरूले उक्त दिनको सार्वजनिक उत्सवको समापन अवलोकन गर्ने छन्। तिनमा स्थलसेना, जलसेना र वायुसेनाका सदस्यहरू सहभागी ६ मिनेट लामो फ्लाई पास्ट हुने छ। रेड एरोको प्रदर्शनसहित समारोह समापन हुने छ।
(लेखन तथा उत्पादनः क्रिस क्लेटन, डिजाइनः लिली हुएन र जो बार्थोलोमिऊ, इलस्ट्रेशनः जेनी ल)


















