Prakash Adhikari May 11, 2023

इस्लामावाद (पाकिस्तान), २८ वैशाख (बीबीसी)  । पाकिस्तानमा पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक ए इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ पर्नुभएको छ।

गिरफ्तार हुनुभन्दा अघि कुरैशीले रिकर्ड गरेको भिडिओमा भन्नुभएको छ, “मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ। म एउटा सन्देश दिन चाहन्छु। यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ। आज इमरान खान उनको नियन्त्रणमा छन् जसबाट उनको ज्यानलाई जोखिम छ।”

उहाँले समर्थकहरूलाई खान रिहा नभएसम्म आन्दोलन नरोक्न पनि अनुरोध गर्नुभएको छ।

यसअघि पाकिस्तानको सेनाले सैन्य अखडाहरू र सार्वजनिक सम्पत्तिहरूमा आक्रमण गर्नेहरू विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ।

पाकिस्तानको पछिल्लो अवस्था कस्तो छ ?

पाकिस्तान

पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएपछि जारी प्रदर्शनहरूमा उहाँका समर्थकहरू र सुरक्षा फौजहरूबीच झडप भएका र सरकारी भवनहरूमा आक्रमण गरिएका विवरण आइरहेका छन्।

राजधानी इस्लामावादमा एउटा प्रहरी चौकीमा आगजनी गरिएको छ।

पछिल्लो तनावमा कम्तीमा १० जना मानिसहरूले ज्यान गुमाएका छन्।

पन्जाब र खैबर पख्तुनख्वामा अमनचयन कायम गर्न सेना परिचालन गरिएको छ।

खानलाई आठ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

पाकिस्तानका पूर्व प्रधानमन्त्रीले आफूमाथिका आरोप राजनीतिक रूपमा पूर्वाग्रही भएको बताउँदै आउनुभएको छ।

इमरान खानको व्यक्तित्व

Imran Khan arrest

सुरक्षाकर्मीहरूले खानलाई नियन्त्रणमा लिँदै गर्दाको नाटकीय दृश्य

पाकिस्तानलाई सन् १९९२ को विश्वकप जिताएका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार खान सफल खेल जीवनपछि राजनीतिमा प्रवेश गर्नुभएको हो।

लहोरका बासिन्दा खानले क्रिकेटबाट अवकाश लिएपछि आफ्नी आमाको सम्झनामा क्यान्सर अस्पताल स्थापनाका लागि अभियान चलाउनुभयो। त्यसक्रममा दशौँ लाख डलर सङ्कलन भएको थियो।

उक्त परोपकारी कामले गर्दा उहाँको विलासी जीवनशैली छायामा पर्‍यो अनि उहाँलाई राजनीतिमा प्रवेश गर्न सहज भयो।

सन् २०१८ को जुलाईदेखि सन् २०२२ को एप्रिलसम्म पाकिस्तानको तेहरिक ए इन्साफ (पीटीआई) दलको प्रमुखका रूपमा खान पाकिस्तानको प्रधानमन्त्री रहनुभयो।

भ्रष्टाचारको काण्ड के हो ?
देशको भ्रष्टाचार नियन्त्रण निकाय न्याश्नल एकाउन्टिबिलिटि ब्युरोले भ्रष्टाचारको आरोप लगाएपछि खान मे ९, २०२३ मा पक्राउ पर्नुभएको थियो।

सरकारी अधिकारीहरूले खान र उहाँकी पत्नीले एउटा परोपकारी ट्रस्टका माध्यमबाट एक जना धनाढ्य घर जग्गा कारोबारीबाट दशौँ लाख डलर बराबरको जमिन प्राप्त गरेको आरोप लगाएका छन्।

त्यसलाई अलकादिर ट्रस्ट प्रकरण भनिएको छ। खान र उनका सहयोगीहरूले कुनै गल्ती नगरेको बताइरहेका छन्।

७० वर्षीय पाकिस्तानी पूर्व प्रधानमन्त्रीले आफूमाथिका आरोप राजनीतिक रूपमा पूर्वाग्रही रहेको जनाउनुभएको छ। उहाँले राजनीतिक शक्तिहरूले देशको शक्तिशाली सेनासँग मिलेर आफूलाई सत्ताभन्दा बाहिर पुर्‍याउन काम गरेको आरोप पनि उहाँले लगाउनुभएको छ ।

अलकादिर ट्रस्ट के हो ?

अलकादिर ट्रस्ट एउटा गैर सरकारी परोपकारी संस्था हो।

पूर्व प्रधानमन्त्री तथा उहाँकी तेस्री श्रीमति बुसरा वात्तो उक्त संस्थाको बोर्ड अफ ट्रस्टी हुनुहुन्छ।

खानले सबैभन्दा बढी जनसङ्ख्या रहेको पाकिस्तानको पञ्जाब प्रान्तमा अल कादिर विश्वविद्यालय स्थापना गर्ने वाचा गर्नुभएको थियो।

विश्वविद्यालयको आधिकारिक संरचना निर्माण क्षेत्र ६० एकडको हुने भनिएको भएपनि त्यहाँ खासै संरचना निर्माण भएका छैनन्।

लाहोरमा राजकुमारी डायना

लाहोरमा राजकुमारी डायनाका साथ इमरान खान

यो प्रकरणमा यूके कसरी जोडिन्छ ?

सन् २०१९ को डिसेम्बर ३ मा यूकेको न्याश्नल क्राइम एजेन्सीले पाकिस्तानका धनाढ्य तथा सर्वाधिक शक्तिशालीमध्येका एक व्यापारी मलिक रिआज हुसेनसँग १९ करोड पाउण्ड बराबरको हिसाब किताब मिलान गरेको घोषणा गर्‍यो।

उसले उहाँको यूकेको खातामा रहेका रकमहरू ‘देशबाहिरबाट घुस वा भ्रष्टाचार गरेर भित्र्याइएको हुनसक्ने आशङ्का’ गरेको थियो। त्यसबेला सो रकम पाकिस्तानमा फिर्ता गर्ने उल्लेख गरिएको थियो।

हुसेनले त्यही दिन आफ्नो प्रतिक्रिया सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक गरेका थिए।

“मैले यूकेमा रहेको हाम्रो वैध र घोषित सम्पत्ति पाकिस्तानको सर्वोच्च अदालतलाई बहरिया टाउन कराचीसमेत संलग्न मुद्दामा १९ करोड पाउन्ड तिर्नका लागि विक्री गरे।”

एनसीएको प्रेस विज्ञप्तिले उक्त निर्णय देवानी विषय रहेको र त्यसले दोषी ठहर गरिएको प्रतिनिधित्व नगर्ने जनाएको छ।”

खान

प्रधानमन्त्री रहेको समयमा गैरकानुनी ढङ्गले उपहार सामाग्रीहरू बेचेको आरोपपनि खानमाथि लागेको छ

उक्त घुसले कसरी काम गरेको हुनसक्छ ?

अहिलेको सरकारले उक्त रकम पाकिस्तानको ढुकुटीमा राख्नुको सट्टा इमरान खानको सरकारले त्यसलाई पाकिस्तानी अदालतले गैरकानुनी ढड्ड्गले बजार मूल्य भन्दा कम दरमा कराचीमा जमिन खरिद गरिएको विषयमा लगाइएको जरिवाना तिर्न प्रयोग गरिएको जनाएको छ।

आन्तरिक मामिला मन्त्रीले हुसेनले उक्त सद्भावका लागि खानको अल कादिर ट्रस्टलाई पञ्जावको झेलुममा रहेको आफ्नो जमिन दिएको जनाएको छ।

Malik Riaz
मलिक रिआज हुसेन पाकिस्तानका शक्तिशाली र धनाढ्य व्यापारी हुनुहुन्छ ।

अब पाकिस्तानका लागि के ?

प्रधानमन्त्रीबाट हटाइएपछि खानले निरन्तर अविलम्ब चुनाव गराउनुपर्ने माग सहित पैरवी गर्दै आउनुभएको छ। यसै वर्षको अन्त्यतिर चुनाव गर्न लागिदैँछ।

खानका सहयोगीहरूका अनुसार उहाँविरुद्ध १०० भन्दा बढी मुद्दाहरू छन्।

तनाव चर्किरहेको भएपनि झन्डै २३ करोड जनसङ्ख्या रहेको पाकिस्तानमा खान ज्यादै लोकप्रिय हुनुहुन्छ।

धेरैले अहिलेको कानुनी समस्याहरूले उहाँलाई आफ्नो आधार क्षेत्रमा थप लोकप्रिय बनाउने बताइरहेका छन्।

Share Now

Leave a comment.