Prakash Adhikari May 25, 2023

 

काठमाडौँ , ११ जेठ । एसिया कप क्रिकेट प्रतियोगिता सञ्चालन हुने संभावना बलियो हुँदै गएको छ । । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अगाडि सारेको एसिया कपसम्बन्धी नयाँ ‘हाइब्रिड मोडेल’ मा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) पनि सहमत देखिएको छ ।

पाकिस्तानले पनि भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा सहभागिता जनाउने लिखित प्रतिबद्धता जनाएमा एशिया कपको हाइब्रिड मोडलमा सञ्चालन गर्न भारत तयार रहेको बीसीसीआई ले जनाएको छ । एसिया कपमा सहभागी अन्य राष्ट्रहरुले भने यसअघि नै पीसीबीद्वारा अघि सारिएको नयाँ ‘हाइब्रिड मोडेल’प्रति समर्थन जनाइसकेका छन् ।

बीसीसीआई र पीसीबी दुबै सकारात्मक देखिएकोले प्रतियोगिताको मुख्य आयोजक एसियाली क्रिकेट काउन्सिल (एसीसी)लार्य यस विषयमा अन्तिम निर्णय लिन सजिलो भएको छ ।

२७ मेमा अहमादाबादमा बस्ने बीसीसीआईको विशेष बैठकले यसलाई लिखित रुपमा पारित गर्ने बताइएको छ ।

यसअघि बीसीसीआईले एसिया कपको सबै खेल पाकिस्तानबाट अन्यत्र सारिनुपर्ने अडान राख्दै आएको थियो । बीसीसीआईको उक्त अडानको जवाफमा पीसीबीले पनि भारतमा आयोजना हुने एकदिवसीय विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको थियो ।

त्यसबाहेक एसिया कपमा सहभागी अन्य राष्ट्रले समेत पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’ मा समर्थन जनाएपछि बीसीसीआई दबाबमा परेको थियो ।

पीसीबीले अगाडि सारेको नयाँ ‘हाइब्रिड मोडेल’ मा आगामी एसिया कपलाई २ भागमा विभाजन गरेर खेलाउने उल्लेख गरिएको छ । प्रतियोगिताको पहिलो चरणमा भारतबाहेक अन्य सबै टोलीले आफ्नो प्रारम्भिक खेल पाकिस्तानमा खेल्नेछन् ।

त्यसपछि दोस्रो चरणमा सबै टोलीले भारतसँगको खेल पाकिस्तान बाहिर ‘न्यूट्रल भेन्यू’मा खेल्नेछन् । ‘न्यूट्रल भेन्यू’का रुपमा संयुक्त अरब इमिरेट्स (यूएई) र श्रीलंकालाई प्राथमिकतामा राखिएको बताइएको छ । तर, बीसीसीआई, बंगलादेश क्रिकेट बोर्ड र श्रीलंका क्रिकेट बोर्डले भने यूएईमा खेल्न अस्वीकार गर्दै आएका छन् ।

उनीहरुले अत्यधिक गर्मी हुने भएकाले यूएईको विकल्प खोजिनुपर्ने बताएका छन् । त्यसैले ‘न्यूट्रल भेन्यू’का रुपमा श्रीलंकालाई छनोट गरिने सम्भावना बढी छ । पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’मा प्रतियोगिताको फाइनल खेल पनि ‘न्यूट्रल भेन्यू’मै खेलाउने प्रस्ताव गरिएको छ । यसको अर्थ भारत फाइनलमा नपुगे पनि प्रतियोगिताको फाइनल खेल ‘न्यूट्रल भेन्यू’मै हुनेछ ।

एसीसीको बैठकले पीसीबीको यो प्रस्तावलाई पारित गरेपछि सम्भवतः आगामी जुनमा एसिया कपको खेल तालिका सार्वजनिक गरिने छ । एसिया कप क्रिकेट सेप्टेम्बरमा आयोजना हुने भनिएको छ । प्रतियोगितामा नेपालसहित ६ राष्ट्र सहभागी हुँदैछन् ।

नेपाल, भारत र पाकिस्तान प्रतियोगिताको समूह ‘ए’मा छन् । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा परेका छन् ।

 

Share Now

Leave a comment.