काठमाडौं, २१ जेठ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आगामी आर्थिक वर्षको बजेटमा गरिएको नयाँ कर व्यवस्थाले सिर्जना गरेको अन्योल अर्थमन्त्रालयले थप कर नलगाइएको विज्ञप्ति जारी गरेपछि अन्त्य भयो र बजेट पछि धितोपत्र बजार परिसूचक हाफ सेञ्चुरीमाथिको बढोत्तरी भयो।
यस दिन ब्रोकर अफिसमा ताला लगाएर लगानीकर्ता अर्थमन्त्रालयमा वार्ताको लागि गएकोले शेयर कारोबार केही समय रोकिएको थियो ।
लगानीकर्तासँगको वार्तामा सरकारले हाल कायम रहेको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने निर्णय गरेसँगै नेप्से परिसूचक बढेको हो।
आइतबार नेप्से परिसूचक ५३.०३ अंक बढेर १९१९.३७ विन्दुमा पुगेको छ।
यस दिन विभिन्न कम्पनीका २ सय ७० थरीका ४५ लाख ५७ हजार कित्ता शेयरको खरिदबिक्रीबाट १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ बराबरको भएको छ।
यस दिन आइएमइ प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन सामुदायिक लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल र महुली लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन १७ स्टकको मात्र मूल्य घटेको छ। यद्यपि सबै स्टकको मूल्य गिरावटदर २ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
यस दिन सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ७।३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक साढे ४ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।


















