Prakash Adhikari June 14, 2023

ओटवा(क्यानडा), ३१ जेठ । नेपालका दुई युवा क्रिकेटरले २०२३ को ग्लोबल टी २० क्यानडामा खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमका युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरी र बलर सन्दीप लामिछाने २०२३ को ग्लोबल टी २० क्यानडामा चयन भएका हुन् ।

मंगलबार राति दीपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले ड्राफ्टमा लिएको हो । यो दीपेन्द्रको विदेशी लिगमा डेब्यु हुने छ ।

दीपेन्द्रले टि२० क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपालबाट टि २० इन्टरनेशनलमा १ हजार रन पूरा गर्ने उनी पहिलो खेलाडी हुन् । दीपेन्द्रले ४४ टी २० आई खेलमा १ शतक र पाँच अर्धशतकसहित १ हजार १ सय ३ रन बनाएका छन् ।

उनले बलिङतर्फ २१ विकेट लिएका छन् । नेपाली क्रिकेट टोलीबाट २०१७ देखि दीपेन्द्र खेल्दै आएका छन् ।

दीपेन्द्र संलग्न हुने मन्ट्रियल टाइगर्सको टोलीमा सकिब अल हसन, आन्द्रे रसेल, क्रिस लिन, पाकिस्तानका मोहम्मद वासिम, युएईका आयन खान लगायतका खेलाडी छन् ।

यता सन्दीप लामिछाने ग्लोबल टी २० क्यानडामा सर्रे जगुआरबाट खेल्ने भएका छन् । सन्दीप ग्लोबल टी २० मा नयाँ होइनन् । उनी केही बर्ष यता लगातार खेल्दै आएका छन् ।

सन्दीपको टोलीमा इंग्ल्यान्डका एलेक्स हेल्स, पाकिस्तानका इफ्तिखर अहमद, अष्ट्रेलियाका जेसन बेहरनडोर्फ, बंगलादेशका लिटन दास र अफगानिस्तानका करिम जन्नत लगायतका खेलाडी छन् ।

ग्लोबल टी २० क्यानडा आगमी जुलाई २० देखी अगष्ट ६ सम्म चल्नेछ ।(स्रोतः हाम्रो खेलकूद)

Share Now

Leave a comment.