हगकंग, २ आषाढ । एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको छ ।
वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १ १ अंक बाँडेका छन् । खेल रद्द हुँदा सेमिफाइनल पुग्ने नेपालको सपनामा भने तुषारापात भएको छ । समूह चरणको तीन खेलबाट नेपालले जम्मा दुई अंक जोडेको छ । पहिलो खेल हारेको नेपालले भारत र हंगकंगसंगको खेल रद्ध भएपछि बाँडिएको एक एक अंकले दुई अंक जोडेको हो । समूह ए बाट हंगकंगलाई पराजित गरेको भारत र नेपाललाई पराजित गरेको पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।
नेपाल भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।
नेपाल ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । भारत र पाकिस्तान भने समान ३ खेलमा एक मा जित र दुई खेलमा अंक बाँड्दै ४–४ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । हङकङ भने ३ खेलमा २ अंकका साथ पुछारमा रहेर बाहिरियो ।
समूह बी मा बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगि सकेको छ । श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।
समूह बी मा युएई ३ खेलमा एक जित, एक नजिता विहीन र एक हारका साथ ३ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो ।
मलेसिया भने ३ खेलमा २ मा हार र १ खेलमा नतिजा विहीन हुँदै बाहिरियो ।
सेमिफाइनलमा श्रीलंकाले समूह ए को विजेता भारत र बंगलोदशले समूह ए को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।


















