काठमाडौं, ३ आषाढ । नेपालको पूर्वी भेगमा असार १ र २ गते आएको बाढीले दर्जन बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।
कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधीन तथा निर्माण सम्पन्न भएका १५० मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा ठूलो आर्थिक क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इप्पान० द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘आयोजनामा भएको अपुरणीय क्षतिलाई सम्बोधन गर्न यथाशीघ्र राहत र उद्धार तथा बेपत्ताहरूको खोजीकार्यका लागि इप्पान स्थानीय प्रशासन, स्थानीय सरकार र नेपाल सरकारसँग अनुरोध गर्दछ,’ इप्पानका अध्यक्ष गणेश कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा खोला नदी बेसिनमा बनेका, अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला ५ मेगावाट, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ५ मेगावाट र सवा खोला ४ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुर्याएको छ।
सुपर हेवा खोलामा कार्यरत १८ जना मजदुर र कर्मचारी बेपत्ता भएका छन्। अहिलेसम्म ४ जना मृत फेला परेका छन्। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक मजदूर तथा कर्मचारीप्रति इप्पानले समवेदना व्यक्त गरेको छ।
त्यसैगरि ताप्लेजुङ र पाँचथर जिल्लामा इङ्गुवा, इवा, काबेली र हेवा खोला नदी बेशिनमा बनेका आयोजनाहरु इङ्गुवा खोला १० मेगावाट, इवा खोला १० मेगावाट, काबेली बी(१ २५ मेगावाट, काबेली बी १ क्यासकेड १० मेगावाट, हेवा खोला ए १५ मेगावाट, हेवा खोला ५ मेगावाट, लोवर हेवा खोला २२ मेगावाटका आयोजनामा बाढीले क्षति पुर्याएको छ।
मनसुन सुरु भएको १र२ दिनमै बाढी पहिरोले यो हदसम्मको क्षति पुर्याएकोले आगामी दिनमा जलविद्युत प्रवर्द्धक र आयोजनामा खटिएका कर्मचारी, मजदूरहरू सबैले उच्च सतर्कता अपनाएर काम गर्न पनि इप्पानले अनुरोध गरिएको छ। त्यस्तै, सबै ‘कभरेज’ हुने गरि बीमा गर्न जलविद्युत प्रवर्द्धकहरूलाई इप्पानले आग्रह गरेको छ।


















