Prakash Adhikari July 26, 2023

सानेपा(ललितपुर),१० श्रावण । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा पार्टीको शून्य सहनशीलताको नीति रहेको बताउनुभएको छ ।

यही साउन २ गते सुरु भई आजसम्म केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयबारे जानकारी दिन आज कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कांग्रेस सधैँ सुशासनका पक्षमा रहेको उल्लेख गर्नुभयो । कांग्रेसले सुशासनमा सधैँ अगुवाइ गरेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले कुनै पनि दोषीलाई संरक्षण नगर्ने बताउनुभयो । कुनै पनि व्यक्तिलाई आरोप प्रमाणित नभएसम्म दोषी भन्न नमिल्ने उहाँको भनाइ थियो ।

कांग्रेसले तीनै तहको निर्वाचनमा बागी बनेर विजयी भएका पार्टीका नेता कार्यकर्ताको कारबाही फुकुवा गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी कांग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौँ गर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो ।

बैठकमा भएको खुला छलफलले पार्टी थप सुदृढ भएर अघि बढ्ने विश्वास व्यक्त गर्दै प्रवक्ता डा महतले कांग्रेसबारे जनतामा थप आकर्षण बढ्ने बताउनुभयो । बैठकमा प्रस्तुत साङ्गठिनक प्रस्तावलाई प्राप्त सुझावलाई समेटेर परिमार्जनसहित पारित गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसका सांसद डा सुनिल शर्माले सुन तस्करी प्रकरणका सम्बन्धमा जिम्मेवारी लिँदै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको सम्बन्धमा प्रवक्ता डा महतले सांसद शर्माले आफ्नो अस्पताललाई स्वास्थ्य बीमा सुविधा पाउनका लागि आफूसँग पहल गरेको तर नपाएको झोँकमा जथाभावी बोलेको बताउनुभयो ।

साथै उहाँले आफू सो प्रकरणमा छानबिनका लागि सघाउन लागिपरेको उल्लेख गर्दै आफू सदैव भ्रष्टाचार र अनियमितताका सम्बन्धमा शून्य सहनशीलताका पक्षमा रहेको बताउनुभयो ।

Share Now

Leave a comment.