काठमाडौं, ७ कार्तिक । मलेसियाको पेनाङ्मा भएको बस दुर्घटनामा तीन नेपाली घाइते भएको मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
आज अपरान्ह एक विज्ञप्ति प्रकाशित गर्दै दूतावासले सो जानकारी दिएको हो ।
कामदारहरु ओसार पोसार गर्ने दुई बस एकापसमा जुध्दा ८ जनाको मृत्यु भएको थियो ।
दूतावासले दिएको जानकारी अनुसार दुर्घटनाको खबर पाउनासाथ पेनाड. स्थित बाणिज्यदूत दतुक हुआन चेन डुङ्ग दुर्घटनास्थलमा पुगेर यसको बारेमा बुझ्ेका थिए । दुर्घटनामा तीनजना नेपाली महिला कामदार पनि घाइते भएका छन् ।
दुर्घटनामा जीवन गुमाउने मध्ये ७ जना इण्डोनेशियाली र एकजना मलेसियन महिला रहेको बुझिएको छ ।
घाइते नेपालीहरुको परिचय खुलेको छैन् ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ ।
सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भीर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।