Prakash Adhikari August 5, 2023

ब्राम्पटन (क्यानडा), २० श्रावण । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जागुअर्स ग्लोबल टि२० क्यानडा २०२३ को फाइनलमा पुगेकोछ ।

पहिलो क्वालिफायरमा सर्रेले भ्यानकुभर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

ज्यागुअर्सले दिएको १ सय ४० रनको मध्यम लक्ष्य पछ्याएको नाइट्स १६.४ ओभरमा १ सय १ रनमा अल आउट भयो ।

नाइट्सका लागि फबिएन एलेनले २० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रनको योगदान दिए । मोहम्मद रिजवान ४ र नाजिबउल्लाह जर्दान १५ रनमा आउट भए ।

ज्यागुअरका लागि तीव्र गतिका बलर म्याथ्यु फोर्डले २.४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सन्दीपले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रे ज्यागुअरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । ज्यागुअरका लागि कप्तान इफ्तिखर अहमदले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । मोहम्मद हरिस २०, जतिन्दर सिंह १५, लिटन दास १६ र आयन खानले २९ रन बनाए ।

नाइट्सका लागि तीव्र गतिका बलर जुनैद सिद्दिकले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । रुबेन ट्रम्पलम्यान र कार्तिक मयाप्पनले समान एक एक विकेट लिए ।

फाइनल खेल आइतबार हुनेछ । दोस्रो क्वालिफायरमा दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स र भान्कुवर नाइट्सबीच आज राति प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले उपाधिको लागि सर्रेसँग खेल्नेछ ।

दीपेन्द्रको उत्कृष्ट फिल्डिङ
नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट फिल्डिङमा मोन्टरिएल टाइगर्सले ग्लोबल टी २० क्यानडाको पहिलो एलिमिनेटर खेलमा ब्राम्पटन वल्भ्सलाई ९ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको छ ।
जितको लागि १ सय ५ रनको सामान्य लक्ष्य टाइगर्सले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सको जितमा कप्तान क्रिस लिन ४७ बलमा ७ ७ चौका र ३ छक्कासहित ६३ रनमा नट आउट रहे । श्रीमन्था विजयरत्ने १५ बलमा २ चौकासहित १५ रनमै नट आउट रहे । मोहम्मद वासिम २४ बलमा २ छक्कासहित २३ रनमा नट आउट रहे ।

त्यसअघि वल्भस टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा १ सय ४ रनमा अल आउट भएको थियो । ओपनर आरोन जोनसनले २५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाए । उस्मान खान ११, कोलिन डी ग्रान्डहोम २० र मार्क च्यापम्यानले ११ रन बनाए ।

नेपालका दीपेन्द्रले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । कार्लोस ब्रेथवेट र आयन खानले समान दुई विकेट लिए । दीपेन्द्रले फिल्डिङमा दुई रन आउट र एक क्याच लिदै जित सहज बनाए ।

ओपनर उस्मान खान कार्लोस ब्रेथवेटको बलमा दीपेन्द्रबाट समातिन पुगेका थिए । दीपेन्द्रले न्युजिल्यान्डका स्टार ब्याटर मार्क च्यापम्यानलाई ११ रनमा बोल्ड आउट गरेका थिए ।

दीपेन्द्रले न्युजिल्यान्डका अलराउन्डर समेत रहेका कोलिन डी ग्रान्डहोम तथा अष्ट्रेलियाका क्रिस गिनलाई विकेटकिपर श्रीमन्थाबाट रन आउट गराएका थिए ।

मोन्ट्रियल टाइगर्स र म्यानकुवर नाइट्सबीच आज राती दोस्रो क्वालिफायर हुनेछ । उक्त खेलको विजेता टोलीले आइतबार सर्रेसँग उपाधिको लागि भिड्नेछ ।

Share Now

Leave a comment.