Prakash Adhikari August 21, 2023

विराटनगर, ४ भाद्र । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनुभएको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा प्रदेशसभाका १६ सदस्य अनुपस्थित रहनुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिनुभएको हो ।

प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ ।

यस पहिले कोशी प्रदेश सभाको आज अपराह्न ३ बजेदेखि बसेको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराउनुभएको थियो ।

सो प्रस्तावको पक्षमा नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा (एकीकृत समाजवादी( का राजेन्द्रकुमार राई, नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोले धारणा राख्दै प्रदेशको राजनीतिक स्थिरता र विकासका लागि थापा सरकारलाई समर्थन गरेको बताउनुभयो ।

उता नेकपा (एमाले) संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले सरकार गैरकानूनी र गैरसंवैधानिक भएकाले विश्वासको मत नदिने धारणा राख्नुभएको थियो ।

छलफलमा उठेका विषयमा जवाफ दिँदै मुख्यमन्त्री थापाले आफूले सहमति गरेर नै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले जनताका आवश्यकतामा विशेष काम गर्ने बताउनुभयो । मुख्यमन्त्री थापाले आफू सदैव सहमति र सहकार्यका पक्षमा रहेको भन्दै विश्वासको मतका पक्षमा मतदान गर्न आह्वान गर्नुभएको थियो ।

प्रदेश सभामा मत विभाजन गरी विश्वासको मतको पक्ष र विपक्षमा मतदान गरिएको थियो ।

प्रदेश प्रमुखबाट नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सरकार गठन भएको २० दिनपछि मुख्यमन्त्री थापाले विश्वासको मत लिनु भएको हो ।

Share Now

Leave a comment.