Prakash Adhikari August 30, 2023

निरञ्जन राजवंशी/ बीबीसी नेपाली सेवा

काठमाडौं, १३ भाद्र । आज क्रिकेटको एशिया कपको समुद्घाटन हुँदै छ । पाकिस्तान र श्रीलंकामा एकसाथ हुने समुद्घाटन खेलमा नेपालले पाकिस्तानको मुल्तानमा आयोजक राष्ट्र पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।

विश्व क्रिकेटको शीर्षस्थानमा रहेको पाकिस्तानी टिमसंग खेल्ने नेपाली क्रिकेट खेलाडीको चाहना र नेपाली दर्शकको चाहना आज पूरा हुँदैछ । अन्ततः आज बुधवार एउटा लामो पर्खाईको अन्त्य हुँदैछ। एशिया कपको उद्घाटन खेल खेलेसँगै नेपाली क्रिकेट टोलीको ुपाकिस्तानसँग खेल्नेु र समर्थकहरूको त्यस्तो खेल हेर्ने लामो समयदेखिको चाहना पूरा हुनेछ।

चार महिना अगाडी एसीसी प्रिमिअर कपको उपाधि जितेर एशिया कपमा छनोट हुनु अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको महत्त्वपूर्ण छलाङ थियो।

उत्साहको त्यो वातावरण त्यतिबेला झन् तात्यो जब खेल तालिका प्रकाशित हुँदा नेपालको समूहमा पाकिस्तान र भारत परे।

त्यसपछिको चार महिनाको समयलाई खेलाडी र समर्थकहरू व्यग्रताका साथ पर्खिरहेका छन्।

फेरी यसैबेला एशिया कपलाई लिएर धेरै नाटकीय मोडहरू आए।

भारत र पाकिस्तानबीचको विवादको पृष्ठभूमिमा झन्डै झन्डै प्रतियोगिता नै रद्द हुनसक्ने स्थितिसम्म सिर्जना भएको थियो।

र यसको उत्कर्षमा नेपालले दुई खेल खेल्न दुई राष्ट्र पुग्नुपर्ने भयो।

नेपाली टोली पाकिस्तानसँग उद्घाटन खेल खेल्न मुल्तान पुगिसकेको छ।

खेल नेपाली समय अनुसार आज बुधवार ३स्१५ बजे सुरु हुनेछ। जुन खेल टेलिभिजनमा पनि नेपाली दर्शकहरूले प्रत्यक्ष हेर्न पाउनेछन्।

भारतविरुद्धको दोस्रो खेल श्रीलङ्काको क्यान्डीमा भदौ १८ गते हुनेछ।

नेपाली भावना
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले बुधवार पाकिस्तानको सामना गर्दैछ

पाकिस्तान र भारतसँग नेपालको प्रदर्शन कस्तो होला भन्ने विषयमा अनेक टिप्पणी भइरहेका छन्।

समर्थकहरू त यति उत्साहित छन् की बाबर आजम वा मोहम्मद रिजवानको विकेट कुन नेपाली बलरले लिने हो जस्ता अनेक कल्पना गरिरहेका छन्।

छिमेकी देशले विश्व क्रिकेटमा लामो समयदेखि जमाएको धाकलाई समर्थन वा विरोध गरिरहेका नेपाली समर्थकहरूका लागि नेपालकै समर्थन गर्न पाउनु भनेको आखिर एउटा दुर्लभ उत्सव नै हो।

तर नेपाली खेलाडीहरू यस प्रतियोगिताको लागि कति गम्भीर छन् भन्ने धारणा पाकिस्तानसँगको खेल अगाडि नेपाली कप्तान रोहित पौडेलले सामाजिक सञ्जालमा पोखेको स्टाटसले दर्साउँछ।

उनले लेखेका छन्, ूचुनौतीको सामना गर्न, सपना पछ्याउन र धैर्यताका साथ खेल्न, ब्याटको हरेक स्ट्रोक, हरेक क्याच र मैदानका हरेक क्षणले हामीलाई लक्ष्यतर्फ नजिक्याएको छ। समर्पण, टिम भावना र अटल समर्थनले हामी एकाग्र भएर टिम र राष्ट्रको आशा लिएर अघि बढेका छौँ।ू

कतिपय समर्थकहरू बुधवार मुल्तान रङ्गशालामा उत्रिँदाको नेपाली टोली भाव यस्तै हुने आनुमान गरिरहेका छन्।

स्मरणीय बनाउने चुनौती

त्यसैले यस प्रतिस्पर्धालाई जित, हार वा प्रतिद्वन्द्वी भावनाभन्दा पर राखेर कप्तान रोहित पौडेलले हेरिरहेका छन्।

उनले नेपाली क्रिकेट टोलीले लिइरहेको उचाइ र त्यसले भविष्यमा नेपाली क्रिकेटलाई अझ राम्रो भविष्यतिर डोहोर्‍याउन यो प्रतियोगिताको महत्वलाई बुझेको कतिपयले अर्थ लगाएका छन्।

पाकिस्तान(नेपालको भिडन्त क्रिकेट प्रेमीले यसरी नै बुझ्नेछन्।

नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठक भन्छन्: “एशिया कपमा नेपालले हार्ने केही छैन। पाउने मात्र हो। त्यसलाई कसरी स्मरणीय बनाउने भन्ने चाहिँ मुख्य हो। ”

यसै हप्ता एक दिवसीय विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको पाकिस्तानसँग नेपालको भिडन्त तुलना गर्ने बेला भएको छैन। उनीहरु एशिया कप उचाल्ने धुनमा हुनेछन्।

जबकि यो बेला नेपाली टोलीमा जित हार भन्दा पनि आत्मविश्वास, धैर्यता, टिम एकता, संयमजस्ता शब्दहरूको महत्त्व बढी छ।

पाकिस्तानी टोलीका स्टार ब्याटरहरु कप्तान बाबर आजम, मोहम्मद रिजवान र फखार जमान अनि बलिङमा बायाँ हाते तीव्र गतिका शाहिन अफ्रिदी, हरिस रौफ, नसिम शाहसँगको खेल नेपालको लागि जुन कुनै हिसाबले उपलब्धि मूलक हुने देखिन्छ।

समर्थकको चाहना छ नेपालले सम्मानजनक प्रदर्शन गरोस्। त्यसमा केही रमाइलो क्रिकेट घटना घटे त्यो नेपालको लागि बोनस हुनेछ।

अब जे हुन्छ त्यो मैदानमा नै देखिनेछ।

Share Now

Leave a comment.