Prakash Adhikari September 12, 2023

 

काठमाडौँ, २६ भदौ स् राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ ।

सामाजिक सञ्जालमार्फत उहाँले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल मर्माहत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताउनुभएको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेकपा ९एमाले०का उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले स्व नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले गए राति निधन हुनुभएका नेकपा ९एमाले० का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थीव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । एमाले उपाध्यक्ष नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो । उपाध्यक्ष नेम्वाङको निधनबारे जानकारी लिन पार्टी नेता तथा कार्यकर्ता अस्पताल पुग्नुभएको छ ।

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

काठमाडौँ, २६ भदौ स् सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ ।

उहाँले नेकपा ९एमाले०का उपाध्यक्ष समेत रहनुभएका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ भन्नुभयो । “प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उहाँले भन्नुभएको छ ।

नेम्वाङको हृदयघातबाट गए राति १ः३० बजे निधन भएको हो ।

स्तब्ध छु : नेता खनाल

काठमाडौँ, २६ भदौ स् पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताउनुभएको छ । आज वक्तव्य जारी गर्दै उहाँले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

नेता खनालले एमाले उपाध्यक्ष नेम्वाङ ७ कक्षादेखिको आफ्नो सहपाठी र राजनीतिक सहयात्री भएको स्मरण गर्दै संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

“हामीले माध्यमिक शिक्षासँगै पढ्यौँ । त्रिचन्द्र कलेजमा आइएससीसँगै पढ्यौँ । त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्र्यौँ”, नेता खनालले भन्नुभयो, “मैले नै उहाँलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेँ, को–अर्डिनेसनकालदेखि नेकपा निर्माणको कालसम्म उहाँ र म एउटै पार्टीमा लामो समयसँगै काम गर्र्यौँ ।”

आफूहरु अलग–अलग पार्टीमा हुँदा पनि हाम्राबीच सधैँ सम्पर्क र सम्बन्ध हुँदै आइरहेको स्मरण गर्दै नेता खनालले पार्टी विभाजन भएका प्रति नेम्वाङ निकै दुःखी हुनुभएको बताउनुभयो । “मिलेर काम गर्ने उपाय के हुनसक्छ भन्नेबारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो”, उहाँले भन्नुभयो ।

नेम्वाङ सरल स्वभावको मृदुभाषी नेताका रूपमा जनजनमा परिचित हुनुभएको उल्लेख गर्दै उहाँले लामो समय सभामुख भएर संसद् परिचालनमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । नेम्वाङ भौतिकरूपमा नरहे पनि नेपालको कम्युनिष्ट, लोकतान्त्रिक र समाजवादी आन्दोलनमा गर्नुभएको योगदान सबैका सामु स्पष्ट रहेको उहाँको भनाइ छ ।

पूर्वसभामुख एवं वर्तमान सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

Share Now

Leave a comment.