Prakash Adhikari September 17, 2023

 

एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले चिनियाँ रक्षा मन्त्री ली साङ्फूको अनुपस्थितिबारे प्रश्न उठानुभएको छ।

चिनियाँ रक्षामन्त्रीलाई भ्रष्टाचारसँग जोडिएको कुनै मामिलाका कारण कारबाही गरिएको हुनसक्ने आशङ्कामाझ जापानका लागि अमेरिकी राजदूतले त्यसबारे टिप्पणी गर्नुभएको हो।

राहम एमानुएलले चिनियाँ रक्षामन्त्री ली तीन सातादेखि नदेखिएको र उहाँले भियतनामको भ्रमण रद्द गरेकोबारे अड्कलबाजीसहित एउटा ट्विट गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “चीन सरकारभित्र बेरोजगारीको दर बढिरहेको छ।”

ली साङ्फूलाई चिनियाँ नेता सी जिनपिङप्रति वफादार मानिन्छ र उहाँ मन्त्रीस्तरीय वरीयताभन्दा माथि रहेका पाँच जना चिनियाँ स्टेट काउन्सिलरमध्ये एक हुनुहुन्छ ।

बेइजिङले उक्त विषयमा प्रतिक्रिया जनाइसकेको छैन।

ली साङ्फू

कैयौँ उच्च पदस्थ सैनिक अधिकारीहरूलाई हालै पदबाट बर्खास्त गरिएको छ।

चीन र अमेरिकास्थित स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले शुक्रवार प्रकाशित गरेको विवरणमा लीलाई पदबाट हटाउन लागिएको उल्लेख छ।

सार्वजनिक वृत्तबाट चिनियाँ विदेशमन्त्री चिन गाङ बेपत्ता भएको केही महिनापछि यो घटना बाहिर आएको हो।

चिन गाङको अकस्मात् अनुपस्थिति र जुलाईमा उहाँलाई पदबाट गरिएको बर्खास्तिको कारण पूर्ण रूपमा खुलाइएको छैन।

जनरल लीकोबारेमा पनि चिनियाँ सरकारले केही भनेको छैन। यसै हप्ताको सुरुमा उहाँबारे सोधिएको प्रश्नमा चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ताले आफू ‘उक्त परिस्थितिबारे जानकार नरहेको’ बताउनुभएको थियो।

ली अन्तिम पटक बेइजिङमा आयोजित अफ्रिकी राष्ट्रहरू सम्मिलित सुरक्षा फोरममा देखिनुभएको थियो। हप्तौँसम्म चिनियाँ रक्षा मन्त्रीहरू सार्वजनिक मञ्चहरूमा देखा नपर्नु अनौठो भने होइन।

ली एरोस्पेश इन्जिनिअर हुनुहुन्छ र उहाँले आफ्नो करिअर भूउपग्रह र रकेट प्रक्षेपण केन्द्रबाट सुरू गर्नुभएको थियो।

पूर्व विदेशमन्त्री चिनजस्तै उहाँ पनि राष्ट्रपति सी जिनपिङले अत्याधिक मन पराउने नेताका रूपमा मानिनुहुन्थ्यो। उहाँ चिन गाङपछि सार्वजनिक रूपमा नदेखिनुभएका दोस्रा मन्त्रिपरिषद् सदस्य र स्टेट काउन्सिलर हुनुहुन्छ।

चीनभित्र गएको अगस्टमा देशको रकेट प्रणाली सम्बन्धी फौजका दुई जना जर्नेलहरूलाई परिवर्तन गरिएपछि सेनाभित्र भ्रष्टाचारसम्बन्धी कदमहरू चालिएका ठानिएका थिए। सैनिक अदालतका अध्यक्षलाई पनि नियुक्तिको केही महिनाभित्रै पदबाट हटाइएको थियो।

अघिल्लो हप्ता र शुक्रवार गरेको ट्विटमा जापानका लागि अमेरिकी राजदूत एमानुएलले लीको अनुपस्थिति र यसअघि चिन र अरू उच्च सैनिक अधिकारी नदेखिएका प्रसङ्ग उल्लेख गर्नुभएको थियो।

उहाँ हालै भियतनामको भ्रमण र सिङ्गापुरका नौ सेना प्रमुखसँग बेइजिङको बैठकमा पनि ‘अनुपस्थित भएको’ भन्दै उहाँले लीलाई घरमै नजरबन्दमा राखिएको हुनसक्ने आरोप लगाउनुभएको थियो।

चीनले यस्ता प्रकरणमा दिने गरेका प्रष्टीकरण

रोचक खालका ट्विटहरू गर्ने मुखर राजदूतले लीको अनुपस्थितिलाई अगाथा क्रिस्टीको उपन्यास ” मिस्ट्री एन्ड देन देयर वर ननु र शेक्सपीयरको नाटक ुहेमलेटुसँग तुलना गरेका थिए। “केही त गडबड भएकै छ।”

रोएटर्स समाचार संस्थाले भियतनामका अधिकारीहरूलाई उद्धृत गर्दै अघिल्लो हप्ताको बैठकबाट लीलाई अकस्मात् हटाइएको भन्दै भियतनामी रक्षा नेतृत्वलाई चिनियाँ जनरल ‘स्वास्थ्य समस्या’बाट गुज्रेको बताइएको उल्लेख गरेको छ।

सिङ्गापुरका जलसेना प्रमुख सिन वाटले अघिल्लो साता चीन भ्रमण गरी सैनिक अधिकारीहरूलाई भेटेका थिए। बीबीसीले सिङ्गापुरको जलसेनालाई एमानुएलको आरोपबारे सोधेको छ।

तीनमहिना अघि चिन गाङ बेपत्ताहुँदा पनि ‘स्वास्थ्यको कारण’ देखाइएको थियो। तर त्यसलाई पनि भ्रष्टाचारको मामिलाका रूपमा अडकल गरिएको छ।

चिनियाँ नेताहरूले स्वास्थ्यको कारण देखाएर महत्त्वपूर्ण भेटवार्ताहरू खासै रद्द गर्दैनन्। उनीहरू वृहत् स्वास्थ्य परीक्षण नियमित गराइरहेका हुन्छन्।

राष्ट्रपति सीप्रति बफादार

चिनियाँ रक्षामन्त्री ली विवादरहित नेता भने होइनन्। सन् २०१८ मा सेनाको उपकरण सम्बन्धी निकायको नेतृत्व गर्दा उनीमाथि रुससँग फौजी विमान र हतियार किनेको भन्दै अमेरिकी सरकारले प्रतिबन्ध लगाएको थियो।

यसै वर्ष आयोजित सिङ्गापुर डिफेन्स समिटमा आफ्ना अमेरिकी समकक्षी लोइड अस्टिनलाई उनले भेट्न अस्वीकार गर्नुको कारण उक्त प्रतिबन्ध रहेको ठानिन्छ।

विश्लेषकहरूले ली बेपत्ता हुनुले चिनियाँ राजनीतिक नेतृत्वभित्रको अपारदर्शितालाई उजागर गरेको उल्लेख गरेका छन्। उनीहरूका विचारमा त्यसले राष्ट्रपति सीका कतिपय निर्णय कमजोर रहेको पनि सङ्केत दिन्छन्।

एशिया सोसाइटीको पोलिसी इन्स्टिच्युटका निल थमस राष्ट्रपति सीले अनुमोदन गरेर छनौट भएका हाल नेतृत्वमा रहेका व्यक्तिहरू बेपत्ता हुनु वा भ्रष्टाचारको सम्भावित अनुसन्धानमा तानिनुले चिनियाँ नेतालाई राम्रो नदेखाउने बताउनुभयो।

उहाँले थप्नुभयो, “सीको नेतृत्व र राजनीतिक स्थिरता जोखिममा परेको देखिँदैन किनभने प्रभावित भएका कुनै पनि व्यक्तिहरू भित्री समूहका थिएनन्।

सबैको बढुवा सीले गर्नुभएको थियो ।

चिन बायाँ र ली दायाँ

बायाँतर्फका चिन र दायाँतर्फका ली दुवै राष्ट्रपति सीका प्रीय नेताहरू हुनुहुन्छ ।

विश्लेषक बिल बिसप चिनियाँ सेनाभित्र ‘भ्रष्टाचारको लामो इतिहास रहेको’ र चिनियाँ सेनाको सर्वोच्च कमान्डरसहित दोहोरो जिम्मेवारीमा रहेका राष्ट्रपति सीले आफ्ना पूर्ववर्तीहरूले जस्तै त्यसविरूद्ध जुध्ने प्रयास गरिरहेको ठान्छन्।

उहाँको विश्लेषणमा सी शक्तिमा आएको एक दशकभन्दा बढी अवधि पुग्दा पनि “भ्रष्टाचार उच्च छ र रकेट फोर्स अफिसर्स र ली साङ्फूलाई लिएर सीले आफ्ना पूर्ववर्तीहरूलाई आरोप लगाउन पाउनेछैनन्।”

उहाँका अनुसार ली, चिन र रकेट फोर्सका अन्य नेताहरू सबैको बढुवा सीले गरेका थिए र “थप यस्ता कारबाहीलाई समाधानका रूपमा हेरिनेछ।”

कारनिगी चीनका एक जना विश्लेषक इयान चोङ्गका अनुसार शीर्ष अधिकारीहरू गायब हुने पछिल्ला घटना ताइवान नजिकै सैनिक गतिविधि उच्च भएको र साउथ चाइना सीमा तनाव बढेको समयमा भइरहेका छन्।

चिनियाँ यूद्धपोतहरू हालैका महिनाहरूमा ताइवान स्ट्रेटमा जम्मा भइरहेका छन् जसले त्यहाँ अर्को चरणको नौसैनिक अभ्यास हुनसक्ने सङ्केत दिएको छ।

चिनियाँ शासन प्रणालीमा रक्षा र विदेश मन्त्रालय बाह्य रूपमा प्रस्तुत गरिने महत्त्वपूर्ण अवयवहरू हुन् र त्यहाँ भित्र अहिलेको अवस्थामा समस्याहरू देखिनु “सञ्चार, तनाव र सङ्कट व्यवस्थापन” को सवालमा चिन्ताको विषय पनि बन्नसक्छ।

कतिपयले जापानका लागि अमेरिकी राजदूतजस्तो उच्च ओहादाका अधिकारीले ट्विटमार्फत राखेको धारणालाई अस्वाभाविक रूपमा पनि लिइरहेका छन्। जापान अमेरिकाको एउटा प्रमुख साझेदार हो तर चीनसँग उसको सम्बन्ध तनावपूर्ण रहने गरेको छ।

प्यासिफिक फोरम रिसर्च इन्स्टिच्युटका एक जना वरिष्ठ सल्लाहकार ब्राड ग्लोजरमेन ह्वाइट हाउसबाट सकारात्मक प्रतिक्रिया नपाइकन अमेरिकी राजदूतले त्यस्तो धारणा नराखेको ठान्नुहुन्छ।

उहाँले भन्नुभयो, “एमानुएलले चीनबाट कुनै प्रतिक्रिया उत्पन्न होस भन्ने प्रयासमा यस्तो गरेको पनि हुनसक्छन्।”

Share Now

Leave a comment.