Prakash Adhikari September 19, 2023

ओटावा(क्यानडा), २ असोज(बीबीसी) । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाउनुभएको छ।

गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो।

क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा विश्वसनीय सम्बन्ध पहिचान गरेको ट्रूडोले बताउनुभयो।

भारतले उक्त आरोपलाई निरर्थकको सङ्ज्ञा दिएको छ।

“क्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनैखाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो”, ट्रूडोले सोमवार क्यानडाको संसद् हाउस अफ कमन्समा बोल्दै भन्नुभयो, “त्यो खुला र प्रजातान्त्रिक समाजले आफूलाई सञ्जालन गर्ने आधारभूत नियमविपरीत कुरा हो।”

दिल्लीले निज्जरको हत्याको आरोपमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।

भारतको प्रतिक्रिया र प्रत्यारोप
मङ्गलवार भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् ट्रूडोका दाबीहरूको खण्डन गरेको छ।

क्यानडामा भएको हिंसाको घटनामा भारत सरकारको संलग्नताबारे लगाइएका आरोपहरू निरर्थक र प्रेरित भएको विज्ञप्तिमा लेखिएको छ।

क्यानडाका प्रधानमन्त्रीबाट हाम्रा प्रधानमन्त्रीसमक्ष त्यस्तै आरोपहरू लगाइएको थियो र तिनको पूर्ण रूपमा खण्डन गरिएको थियो।

“क्यानडाका प्रधानमन्त्रीले संसद्‌मा जे कुराहरू भने हामी तिनलाई अस्वीकार गर्छौं। हामी क्यानडाका विदेशमन्त्रीको भनाइलाई पनि अस्वीकार गर्छौं।”विज्ञप्तिमा लेखिएको छ,”यस्ता आधारहीन आरोपहरू खालिस्तानी आतङ्कवादी र चरमपन्थीहरूबाट ध्यान मोड्नका लागि गरिएको हो। क्यानडाले त्यस्ता खालिस्तानी आतङ्ककारी र अतिवादीहरूलाई शरण दिएको छ, जो भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन्।”

यी विषयमा क्यानडा सरकारले लामो समयदेखि कारबाही नगर्नु आफ्ना लागि चिन्ताको विषय बनेको भारतले जनाएको छ।

“क्यानडाका नेताहरूले त्यस्ता तत्त्वहरूसँग खुलेर सहानुभूति देखाउँछन् जुन हाम्रो लागि गम्भीर चिन्ताको विषय हो।क्यानडामा हत्या, मानव बेचबिखन र सङ्गठित अपराधजस्ता गतिविधिलाई फस्टाउन दिनु कुनै नयाँ कुरा होइन। हामी त्यस्ता गतिविधिमा भारत सरकारलाई संलग्न गराउने कुनै पनि प्रयासलाई अस्वीकार गर्छौं”, विज्ञप्तिमा भनिएको छ,”हामी क्यानडा सरकारलाई क्यानडाको माटोबाट सञ्चालित भारतविरोधी गतिविधिविरुद्ध तुरुन्त र प्रभावकारी कानुनी कारबाही गर्न आग्रह गर्छौँ।”

कूटनीतिज्ञ निष्कासित

निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई दृष्टिगत गर्दै भारतका एक शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरिएको क्यानडाले जनाएको छ।

सोमवार ट्रूडोको अभिव्यक्तिपछि पत्रकारहरूसँग बोल्ने क्रममा विदेशमन्त्री मेलानी जोलीले उक्त घटनामा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई निष्कासन गरिएको जानकारी दिनुभयो।

प्रत्युुत्तरमा भारतले मङ्गलवार क्यानडाका एक वरिष्ठ कूटनीतिज्ञलाई निष्कासित गरेको छ।

ट्रूडोले जी२० सम्मेलनमा सहभागी हुने क्रममा उक्त विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उठाउनुभएको छ।

त्यस क्रममा ट्रूडोसँगको भेटमा प्रधानमन्त्री मोदीले क्यानडामा सिख पृथकतावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाउनुभएको थियो।

ट्रुडोले अरू के भने

प्रधानमन्त्री ट्रूडोले क्यानडाले निज्जरको हत्याबारेका आफ्ना चासोहरू भारतका उच्च सुरक्षा र गुप्तचर निकायसमक्ष राखेको बताउनुभयो।

उहाँले यो विषय अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकसँग पनि उठाइएको बताउनुभयो।

“म दृढतापूर्वक भारत सरकारसँग यो विषय स्पष्ट पार्न क्यानडालाई सहयोग गर्न आग्रह गरिरहन्छु”, उहाँले भन्नुभयो।

ट्रूडोले निज्जरको हत्याका कारण क्यानडाका नागरिकहरू क्रोशित भएका र केही मानिस आफ्नो सुरक्षाबारे डराएको बताउनुभयो।

हरदीप सिंह निज्जर को थिए ?

निज्जर क्यानडाको पश्चिमी कुनामा पर्ने प्रान्त ब्रिटिश कोलम्बियाका प्रभावशाली सिख नेता हुनुहुन्थ्यो। उहाँ केही महिनायता अनपेक्षित घटनामा ज्यान गुमाउने तेस्रा प्रभावशाली सिख नेता हुनुहुन्छ।

उहाँ सार्वजनिक रूपमै स्वतन्त्र सिख राज्य स्थापनाको माग गर्ने खालिस्तान अभियानमा संलग्न हुनुहुन्थ्यो।

उक्त अभियानकै कारण पहिलादेखि नै उहाँ निसानामा रहेको समर्थकहरूको दाबी छ।

भारतले यसअघि उहाँलाई एक पृथक्तावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको सङ्ज्ञा दिएको थियो। उहाँका समर्थकहरू ती आरोपलाई आधारहीन मान्छन्।

क्यानडाले हालै भारतसँगको खुला व्यापार सम्झौतासम्बन्धी वार्ताहरू रद्द गरेको छ। विस्तृत जानकारी नदिएको भए पनि उसले ूकेही राजनीतिक विकासक्रमू कारण त्यसो गर्नुपरेको बताएको छ।

क्यानडामा भारतीय मूलका झन्डै १४ देखि १८ लाख जना त्यहाँका नागरिक छन्।

भारतको पञ्जाबबाहिर सिखको सर्वाधिक सङ्ख्या क्यानडामै छ ।

Share Now

Leave a comment.