Prakash Adhikari September 19, 2023

काठमाडौं, २ असोज। साल्ट ट्रेडिङ कर्पोरेसनले तोरीको खाने तेलको उत्पादन सुरु गरेको छ ।

कर्पोरेसनका विभागीय प्रबन्धक कृष्णकुमार खड्काका अनुसार गत मंसिरदेखि तोरीको तेलको परीक्षण उत्पादन गर्न सुरु गरिएको थियो । कर्पोरेसनले ‘शान्ति’ ब्रान्डमा तेल उत्पादन गरी बजारमा ल्याएको छ ।

खड्काका अनुसार हेटौंडाको औद्योगिक क्षेत्रभित्र रहेको नेपाल वनस्पति घ्यू लिमिटेड उद्योगबाट यो तेल उत्पादन भइरहेको छ । विगतमा साल्ट ट्रेडिड.ले यहीबाट वनस्पति घ्यू उत्पादन गरी बिक्री गर्दै आएको थियो । वनस्पति घ्यूको बजार धराशयी भएपछि बन्द भएको यही उद्योगक्षेत्रमा तेल उत्पादन गर्ने सानो प्लान्ट राखेर कर्पोरेशनले तोरी तेल उत्पादन सुरु भएको हो ।

कर्पोरेशनले स्वदेशी बजारबाट तोरी खरिद गरी तेल उत्पादन गर्दै आएको छ । उत्पादित तेल कर्पोरेसनकै बिक्री केन्द्रमार्फत बजारीकरण भइरहेको छ । कारखानाको उत्पादन क्षमता प्रतिदिन १ टन छ । १ टन तोरी पेल्दा ४० प्रतिशतको दरले करिब ४ सय लिटर तेल उत्पादन हुने गरेको छ ।

उत्पादन सुरु गरिए पनि लागत खर्च अत्यधिक भएकाले बजारमा उपलब्ध अन्य ब्रान्डको खानेतेलसँग प्रतिस्पर्धा गर्न कठिनाइ भएको खड्काले बताए ।

‘अहिले हामी थोरै परिमाणमा उत्पादन गरिरहेका छौं,’ खड्काले भन्नुभयो , ‘उपभोक्ताले यो उत्पादन रुचाइदिनुभयो भने विस्तारै उत्पादन क्षमता बढाउँदै लैजाने हो । अहिले हामीले आफ्नै बिक्री केन्द्रहरुबाट यसको बिक्री सुरु गरेका हौं ।’

प्रतिलिटर तेललाई अहिले ३ सय ८० रुपैयाँ उपभोक्ता मूल्य तोकिएको छ । तोरी पेल्दा उत्पादन हुने सहउत्पादन पिना दाना उद्योग र माछा फार्मले खरिद गर्दै आएका छन् ।(क्लिकमाण्डुबाट)

Share Now

Leave a comment.