न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ५ असोज । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुनुुुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुभएको छ ।
संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन आउने सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरुलाई अमेरिकी राष्ट्रपतिले चियापानमा निम्तो गर्ने र सबैसंग फोटो सेसन गर्ने प्रचलन रहिआएको छ ।
यस्तै कार्यक्रममा खिचिएको तस्बिर प्रधानमन्त्री दाहालको सचिवालयले सार्वजनिक गरेको छ ।
उक्त तस्बिरमा अमेरिकी फर्स्ट लेडीका रुपमा जिल ट्र्यासी जाकोब्स बाइडेन हुनुहुन्छ भने नेपालबाट फर्स्ट लेडीका रुपमा प्रचण्ड पुत्री गंगा दाहाल उभिनुभएको छ ।
प्रधानमन्त्री दाहालले शुक्रबार नै राष्ट्रसंघीय महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको छ। उहाँले सम्बोधनका क्रममा नेपालको शान्ति प्रक्रिया अब निष्कर्षमा पुग्दै गएको बताउनुभएको थियो।
प्रचण्डले राष्ट्रसंघमा अल्पविकसित मुलुकको अध्यक्षका रुपमा पनि सम्बोधन गर्नुभएको थियो । उहाँले राष्ट्रसंघीय महासभामा हुँदा विभिन्न देशका समकक्षीहरुसँग पनि साइड लाइन वार्ता गर्नुभएको थियो।
प्रधानमन्त्री दाहाल शुक्रबार नै अब न्युयोर्कबाट सिधै चीन भ्रमणमा जाँदै हुनुहुन्छ। त्यहाँ उहाँ चार दिनसम्म रहनुहुने छ।
उहाँलेले चीनको हाङझाओमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने कार्यतालिका छ।
प्रधानमन्त्री दाहाल १९ औं एशियाली खेलकूद प्रतियोगिताको उद्घाटनमा पनि सहभागी हुँनुुहुनेछ ।।


















