Prakash Adhikari September 22, 2023

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तीन दिनदेखि संघीय राजधानी काठमाडौंमा आन्दोलित शिक्षकहरुका माग सही र संवैधानिक रहेको बताउनुभएको छ।

शिक्षकहरुको आन्दोलन चर्किने छनक देखिँदै गर्दा सत्तारुढ दलका प्रभावशाली नेता कोइरालाले सरकार यसबारे गम्भीर हुनुपर्ने बताउनुभएको हो।

‘शिक्षकहरुका मागहरु केही व्यवहारिक, कानुनी र संवैधानिक छन्। दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ’, डा.कोइरालाले भन्नुभएको छ, ‘व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न। यस्ता मागहरु तुरुन्त सम्बोधन गरौँ। कानूनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरुको भूमिकाको उच्च मूल्यांकन गर्दै विद्यालय शिक्षा विधेयकमा आवश्यक प्रावधान समेटौँ र यो आन्दोलन सहमतिमा टुंग्याऊँ।’

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरु विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको पनि बताउनुभएको छ।

कोइरालाले यस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार बनेर तुरुन्त समस्या समाधान गर्नुपर्ने सुझाव दिनुभएको छ।

बिहीबार मात्रै प्रमुख प्रतिपक्षी नेकपा एमालेले शिक्षकहरुका माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिएको थियो।

Share Now

Leave a comment.