काठमाडौँ, १५ असोज । नेपालमा एमसीसीको अनुदान सहयोगमा सञ्चालित हुने कार्यक्रमहरु कार्यान्वयनमा गएको उपलक्ष्यमा आयोजित सेलेब्रेसन कार्यक्रममा सहभागी हुन आउनुभएकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले सोमबार नेकपा एमालेक अध्यक्ष के.पी. शर्मा ओली भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटनुभएको छ ।
प्रमुख कार्यकारी अधिकृत अलब्राइटले नेकपा (एमाले(का अध्यक्ष केपी शर्मा ओलीलाई ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा भेट गर्नुभएको थियो ।
उहाँहरुबीच आज एमसिसी कार्यान्वयनका विषयमा छलफल भएको एमाले परराष्ट्र मामिला विभागका प्रमुख डा राजन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले परियोजनाको सहमतिअनुसार नै अगाडि बढाउनुपर्ने र निर्धारित समयमा नै एमसिसी परियोजना सक्नुपर्ने भनाइ राख्नुभयो ।
एलिस अलब्राइटले एमसिसी कार्यान्वयनको तहमा पुगेको भन्दै निर्धारित समयमा नै एमसिसी परियोजना सक्ने लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको नेता डा भट्टराईले जानकारी दिनुभयो ।
कार्यान्वयनमा शङ्का नगर्न मन्त्री ज्वालाको आग्रह
सोमबार नै एमसीसीका प्रमुख कार्यकारी अधिकृत अलब्राइटले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गर्नुभको थियो । भेटमा मन्त्री ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसिसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटका लागि पुग्नुभएका अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र उहाँको प्रतिनिधिमण्डललाई मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्नुभएको हो ।
“नेपाल सरकार र सार्वभौम संसद्ले एमसिसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन”, मन्त्री ज्वालाले भन्नुभयो, “परियोजनामा केही समस्या छन्, तर ठीक समयमा सुरु गरेर ठीक समयमा निर्माण सकेपछि अहिले उब्जिएका कतिपय समस्याहरु आफैँ हल भएर जानेछन् ।”
प्रमुख कार्यकारी अधिकृत अलब्राइटले एमसिसी परियोजना सहज रुपमा कार्यान्वयनमा गएकाप्रति आफूलाई खुसी लागेको बताउनुभयो । “एमसिसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएको छु नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु”, उहाँले भन्नुभयो ।
सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन लगायतको उपस्थिति थियो ।


















